भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि
झापा, १५ कात्तिकः पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’ को उपाधि आयोजक भद्रपुर नगर हक्की सङ्घको टिमले जितेको छ । पुहाँतु जनज्योति माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।
उपाधिसँगै भद्रपुर नगर हक्की सङ्घले रु दुई लाख नगद, सिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता भारतको आरके रोय अफ हक्की सङ्घलाई रु एक लाख नगदसहित सिल्ड तथा मेडल प्रदान गरिएको छ । प्रतियोगितामा भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गर्दै नगद रु ५० हजारसहित सिल्ड प्राप्त गरेको छ ।
विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक भद्रपुर–८ स्थित ओमसाई पाथिभरा हस्पिटल रहेको थियो ।
विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले र उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गरेका छन् । उत्कृष्ट गोलकिपर भद्रपुरकै विष्णु घिमिरे र उत्कृष्ट डिफेन्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकीले पाएका छन् । फेयर प्ले टिमको पुरस्कार पोखराको टिमले जित्दै नगद रु १५ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
विजेता टोलीलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले पुरस्कार वितरण गरेका छन् । भद्रपुर नगर हक्की सङ्घको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गर्नुभएको थियो ।
प्रतियोगितामा भारतका तीन, विभागीयसहित नेपालका छ र आयोजक एक गरी १० टिमको सहभागितामा थियो । खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो ।

