Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफ्रिकामा एचआईभी नियन्त्रणका लागि आन्तरिक स्रोत परिचालनमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/सिन्ह्वा)

अफ्रिकाका स्वास्थ्य विज्ञ तथा नीति निर्माताहरूले महादेशका दुई करोडभन्दा बढी एचआईभी संक्रमित व्यक्तिले पाइरहेको जीवनरक्षक उपचार सेवा निरन्तर सञ्चालन गर्न राष्ट्रिय बजेटमै एचआईभीसम्बन्धी कार्यक्रमका लागि पर्याप्त रकम छुट्याउन आह्वान गरेका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा जारी पाँचौँ अफ्रिका जनस्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलन (सीपीएचआईए २०२६) को अवसरमा बुधबार आयोजित उच्चस्तरीय छलफलमा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

‘आफ्नै सुरक्षा कवचको वित्तीय व्यवस्थापन : बाह्य निर्भरता पछिको युगमा अफ्रिकाको एचआईभी प्रतिकार्य सुनिश्चित गर्ने’ विषयमा आयोजित उक्त छलफल अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र, संयुक्त राष्ट्रसंघीय एचआईभी/एड्स कार्यक्रम (यूएनएड्स) लगायत साझेदार संस्थाको सहआयोजनामा भएको थियो ।

छलफलमा सहभागीहरूले विगत २० वर्षमा एचआईभी नियन्त्रण कार्यक्रम अफ्रिकाको सबैभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्ने जनस्वास्थ्य कार्यक्रममध्ये एक बनेको र यसबाट लाखौँ मानिसको जीवन जोगिएको उल्लेख गरे । यद्यपि, उक्त कार्यक्रम अझै पनि बाह्य आर्थिक सहयोगमा अत्यधिक निर्भर रहेको उनीहरूको भनाइ थियो ।

दातृ निकायको प्राथमिकतामा आएको परिवर्तन र विश्वव्यापी स्वास्थ्य संरचनामा भइरहेको फेरबदलका कारण गत वर्ष अन्तर्राष्ट्रिय एचआईभीसम्बन्धी आर्थिक सहयोग २५ प्रतिशतले घटेको सहभागीहरूले बताए । यो सन् २००७ यताकै न्यून स्तर हो ।

अफ्रिकाको एचआईभी प्रतिकार्यलाई सुरक्षित राख्न दिगो वित्तीय व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै यूएनएड्सकी उपकार्यकारी निर्देशक एन्जेली अच्रेकरले अफ्रिकी देशहरूको आफ्नै नेतृत्व र अन्तर्राष्ट्रिय ऐक्यबद्धता सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले एचआईभीसम्बन्धी प्रत्येक वित्तीय निर्णयको केन्द्रमा प्रभावित व्यक्ति र समुदाय हुनुपर्नेमा जोड दिँदै कुनै टाढाको देशमा अनुदान नवीकरण हुने वा नहुने कुराले मानिसहरूको भविष्य निर्धारण गर्न नहुने बताउनुभयो ।

उहाँका अनुसार उपचार तथा सेवाको निरन्तरता, एचआईभीबाट बढी प्रभावित समुदायलाई समान अवसर र स्रोतको जवाफदेही उपयोग प्रमुख प्राथमिकता हुनुपर्छ ।

आर्थिक सहयोगको अभावले एचआईभी रोकथामका प्रयास तथा समुदायको नेतृत्वमा सञ्चालित कार्यक्रमहरूमा गम्भीर असर पारेको विज्ञहरूले बताएका छन् । अफ्रिकाले विगतका उपलब्धि जोगाउन र एचआईभी कार्यक्रमलाई स्वास्थ्य सुरक्षा तथा आत्मनिर्भरताको अभिन्न अंग बनाउन आन्तरिक स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने उनीहरूको जोड छ ।

संयुक्त राष्ट्रसंघीय अफ्रिका आर्थिक आयोगका कार्यकारी सचिवको कार्यालयका प्रमुख अबुबाक्री दियावले ऋण भुक्तानीको दायित्वले अफ्रिकी देशहरूको स्वास्थ्य क्षेत्रमा लगानी गर्ने क्षमता कमजोर बनाएको बताउनुभयो । उहाँका अनुसार ३२ भन्दा बढी अफ्रिकी देशले स्वास्थ्य सेवाभन्दा ऋण भुक्तानीमा बढी खर्च गरिरहेका छन् ।

आगामी डिसेम्बर १ मा मनाइने सन् २०२६ को विश्व एड्स दिवसअघि उक्त छलफल आयोजना गरिएको हो। यस वर्षको दिवसको नारा ‘एड्स अन्त्यको सुरुवात पहुँचबाट हुन्छ’ रहेको छ । यसले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा सबैको समान पहुँच सुनिश्चित गर्न राजनीतिक प्रतिबद्धता, निरन्तर लगानी र सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार दशकौँको प्रगतिका बाबजुद सन् २०३० सम्म एड्सलाई जनस्वास्थ्यको खतराका रूपमा अन्त्य गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्ने दिशामा विश्व अझै पछाडि छ । आर्थिक सहयोगमा आएको अवरोध, निरन्तर असमानता र स्वास्थ्य सेवामा पहुँचका कठिनाइले हालसम्मका उपलब्धि जोखिममा पारेका छन् ।

‘निर्भरता र जोखिमबाट स्वामित्व तथा उत्थानशीलतातर्फ : अफ्रिकाको स्वास्थ्य सुरक्षा र सार्वभौमिकताको रूपान्तरण’ नारासहित आयोजित सीपीएचआईए २०२६ अफ्रिकाको प्रमुख जनस्वास्थ्य सम्मेलन हो । सम्मेलनमा अफ्रिकी राष्ट्र तथा सरकार प्रमुख, स्वास्थ्यमन्त्री, वैज्ञानिक, नवप्रवर्तक र अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan