Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार | (रासस-एएफपी)

नयाँदिल्ली, ११ मङ्सिर  : सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो ।

भारतीय ओलम्पिक सङ्घ (आइओए) ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण गर्दै गुजरातको अहमदाबादमा ओलम्पिक आयोजना गर्ने आफ्नो योजना प्रस्तुत गरेको थियो ।

आइओएका प्रमुख कार्यकारी रघुराम अय्यरले प्रस्तुतीकरण निकै राम्रो भएको बताउनुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले आइओसीसँगको छलफल व्यापक स्तरमा भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा रहेको अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारी गरिरहेको छ । यसलाई सहरको सङ्गठनात्मक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतसहित जर्मनी, हङ्गेरी, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की गरी सात देशले रुचि देखाएका छन् ।

यद्यपि, भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास भारतीय ओलम्पिक सङ्घभित्रको आन्तरिक विवादबीच अघि बढिरहेको छ । यसै महिनाको सुरुमा आइओसीले प्रशासनिक समस्या समाधान गर्न भारतीय सङ्घलाई चेतावनी दिएको थियो । निर्वाचन प्रक्रियामा ठूलो धाँधली भएको आरोप लगाएपछि सङ्घकी अध्यक्ष पीटी उषाले डिसेम्बरमा पुनः निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।

अय्यरका अनुसार भारत अहिले आइओसीसँग निरन्तर संवादको चरणमा छ । यो चरण सफलतापूर्वक पार गरेमा आगामी वर्ष मार्च वा अप्रिलमा हुने रणनीतिक संवादमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

उहाँले ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न केन्द्र सरकार, राज्य सरकार, स्थानीय निकाय र खेलकुद सङ्घहरूको पूर्ण समर्थन आवश्यक पर्ने बताउनुभयो ।

सन् २०२८ को लस एन्जलस ओलम्पिकपछि वा सन् २०२९ को सुरुतिर सन् २०३६ को ओलम्पिक आयोजकबारे अन्तिम निर्णय हुन सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan