Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलमा आगामी ‘सिजन’देखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

काठमाडौँ, ८ मङ्सिरः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने गरी क्रिकेट रङ्गशाला निर्माणको तयारी अघि बढाउन फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै फ्रेन्चाइज टोलीका आफ्नै सुविधासम्पन्न रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयनबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो ।

छलफलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा व्यावहारिक योजना बनाएर चरणबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । आगामी चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानबाट घरेलु तथा बाह्य मैदानमा खेल सञ्चालनको अभ्यास सुरु गरी पाँचौँ र छैटौँ संस्करणसम्म आठवटै टोलीका घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

रङ्गशाला निर्माणको ‘मोडालिटी’ र समयसीमा स्पष्ट गर्नुपर्नेमा जोड दिँदै उहाँले सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्ने वा क्लबलाई दीर्घकालीन भाडामा दिएर निर्माणको जिम्मेवारी सुम्पने विकल्पमा सरकार खुला रहेको बताउनुभयो ।

क्लबको स्वामित्व र अपनत्व भएमा रङ्गशाला निर्माणले गति लिने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उहाँको धारणा थियो ।

छलफलमा अन्तरराष्ट्रियस्तरको प्रसारण, कार्यक्रम उत्पादन र निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) सञ्चालनको लागत उच्च हुने विषय पनि उठेको थियो । ‘होम एन्ड अवे’ प्रणाली लागू गर्दा लागत र आम्दानी बाँडफाँटको स्पष्ट खाका बनाएर अघि बढ्ने विषयमा छलफल भएको थियो ।

बैठकमा क्यान सचिव खड्काले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदान र मूलपानी मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गरी कम लागतमा कीर्तिपुर, मूलपानी र चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्र तयार गर्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

उहाँले एनपिएलका क्लबबीच सहकार्य राम्रो रहेकाले रङ्गशाला निर्माणलगायतका काममा संयुक्त रूपमा अघि बढ्न कठिनाइ नहुने बताउनुभयो ।

फ्रेन्चाइज टोलीका प्रतिनिधिले आगामी सिजनका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानको दर्शक क्षमता तत्काल बढाउनुपर्नेमा जोड दिएका थिए । अन्य मैदान निर्माणका लागि पनि आपसी सहकार्य गर्न सकिने उनीहरूको भनाइ थियो ।

सरकारले दीर्घकालीन र स्पष्ट नीतिगत व्यवस्था गरेमा रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन तयार रहेको उनीहरूले बताएका थिए । खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन तथा प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।

आगामी सिजनमा बिहानका खेल मूलपानी र साँझका खेल फ्लडलाइटमा कीर्तिपुर मैदानमा सञ्चालन गर्न सकिने व्यावहारिक विकल्प पनि उनीहरूले प्रस्तुत गरेका थिए । त्यसका लागि कीर्तिपुर मैदानलाई व्यवस्थित बनाउँदै मूलपानी र चितवनका रङ्गशाला निर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

छलफलमा प्राप्त सुझाव समेट्दै मन्त्री पोखरेलले सार्वजनिक–निजी साझेदारीको ढाँचामा एनपिएलका फ्रेन्चाइज टोलीसँगै सहकार्य गरेर काम अघि बढाउन सरकार इच्छुक रहेको बताउनुभयो । घोषणा कार्यान्वयन गर्न आवश्यक मोडालिटी तयार गरी छिट्टै काम सुरु गरिने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan