जलवायु कार्य सप्ताहको दोस्रो दिन जलवायु वित्तमा केन्द्रित, स्रोत परिचालनमा जोड
धुलिखेलमा वातावरणमैत्री पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता, नदी संरक्षणमा जापानी विशेषज्ञसँग छलफल
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायु उत्थानशील समुदाय निर्माणका लागि आवश्यक आर्थिक तथा मानवीय स्रोत परिचालनमा जोड दिँदै जलवायु कार्य सप्ताहको दोस्रो दिन ‘जलवायु वित्त’ विषयमा केन्द्रित कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जलवायु परिवर्तनका चुनौती सामना गर्न आर्थिक स्रोतको व्यवस्थापन, स्रोतमा स्थानीय समुदायको पहुँच र अधिकार, प्रभावकारी वित्तीय संयन्त्र तथा स्थानीयस्तरमै सम्भव हुने समाधानका विषयमा छलफल गरिएको थियो।
दोस्रो दिनको कार्यक्रमअन्तर्गत धुलिखेलमा वातावरणमैत्री ‘काठमाडौं–धुलिखेलमैत्री पार्क’ निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ। त्यस्तै, काठमाडौं भएर बग्ने नदी प्रणालीको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक डिजाइन र प्रविधिबारे जापानी विशेषज्ञ टोलीसँग छलफल गरिएको छ।
जलवायुका क्षेत्रमा क्रियाशील अभ्यासकर्ता तथा विभिन्न सरोकारवालाको सहभागितामा भएको छलफलले जलवायु उत्थानशील समुदाय निर्माणका लागि मानव स्रोत र आर्थिक स्रोतको परिचालनलाई प्राथमिकतामा राखेको छ। जलवायु वित्तलाई प्रभावकारी बनाउने, स्रोतको न्यायोचित वितरण गर्ने तथा स्थानीय आवश्यकताअनुसार समाधान खोज्ने विषयमा सहभागीहरूले ठोस सुझाव दिएका छन्।
जलवायु परिवर्तनका विषयमा छलफल र प्रतिबद्धतामा मात्रै सीमित नभई उपलब्ध स्रोतसाधनको उपयोग गर्दै व्यवहारमै काम गर्ने समय आएको आयोजकले जनाएको छ। सोहीअनुसार अहिले नै कार्यान्वयन गर्न सकिने कामलाई प्राथमिकता दिँदै जलवायु कार्य सप्ताहका कार्यक्रम सञ्चालन भइरहेका छन्।
जलवायु कार्य सप्ताहको तेस्रो दिन भोलि ‘नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा कार्यक्रम केन्द्रित हुनेछ। उक्त दिन काठमाडौंको परम्परागत हिटी प्रणालीको स्थलगत अवलोकन गरी त्यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अपनाउन सकिने उपायबारे सुझाव प्रस्तुत गरिनेछ।
त्यसैगरी, चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’, पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ र छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ विषयमा कार्यक्रम सञ्चालन हुनेछ।
जलवायु कार्य सप्ताहको सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्व र भूमिकाबारे छलफल गरिने कार्यक्रम रहेको छ।
सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहले जलवायु परिवर्तनका चुनौतीलाई स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म व्यवहारिक कार्ययोजना र कार्यान्वयनसँग जोड्ने लक्ष्य राखेको छ।
