Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस-एपी)
newsabhiyan

प्राग, ३० कात्तिक : सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् ।

सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे ।

आयोजक मिकुलास मिनारले यसलाई आन्दोलनको सुरुआत मात्र भएको बताउनुभयो ।

सरकारले नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको सट्टा सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम दिने प्रस्ताव गरेको छ । तर, यसबाट उनीहरूको बजेट करिब १५ प्रतिशत घट्ने र कर्मचारी कटौती तथा कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । आलोचकहरूले यसले सरकारको सञ्चारमाध्यममाथिको नियन्त्रण बढाउने बताएका छन् ।

विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ः३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको छ ।

सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडताल गर्नुका साथै श्रमिक सङ्गठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम संस्थाले आन्दोलनलाई समर्थन गरेका छन् । युरोपेली संसद्मा समेत यस विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री बाबिसले भने योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गर्दै त्यसलाई अघि बढाउने बताउनुभएको छ ।

प्रदर्शनकारीले सरकारको रक्षा नीतिको पनि विरोध गर्दै रुससमर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन् । आयोजक मिनारले रुससमर्थक दलका कारण देशको रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan