Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस-एएफपी)

खार्तुम, ३० कात्तिक : सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ ।

आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ ।

स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार गाउँको सार्वजनिक चोकमा भएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीयका घरमा हुँदा धेरै घरमा आगलागी भएको थियो ।

आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन् ।

उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन् । मारिएकामध्ये नौ जना उनका आफन्त थिए । उनले युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन् ।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा आक्रमण भएको हो ।

सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan