Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागूऔषधसम्बन्धी हिंसा बढेपछि ग्वाटेमालाको पूर्वी क्षेत्रमा सङ्कटकाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस/एएफपी)

लागूऔषध ओसारपसारमा संलग्न समूहसँग सम्बन्धित हिंसा बढेपछि ग्वाटेमालाका अधिकारीहरूले देशको पूर्वी क्षेत्रमा सङ्कटकाल घोषणा गरेका छन् । एक सांसदसहित चार जनाको हत्या भएको एक सातापछि सरकारले यस्तो कदम चालेको हो ।

    शनिबारदेखि ३० दिनसम्म लागू हुने सङ्कटकालीन आदेशले पूर्वी क्षेत्रका जाकापा र इजाबाल विभागमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ । साथै, सुरक्षा निकायलाई थप अधिकार प्रदान गरेको छ ।

    आदेशअनुसार, सुरक्षा निकायले बल प्रयोग गरी मानिसहरूको जमघट तितरबितर पार्न, पक्राउ गर्न तथा अदालतको वारेन्टबिनै निजी घरमा प्रवेश गर्न सक्नेछन् ।

    सरकारले विज्ञप्ति जारी गर्दै सङ्कटकालको उद्देश्य सुरक्षा व्यवस्था सुदृढ पार्नु र नागरिकको सुरक्षा सुनिश्चित गर्नु रहेको जनाएको छ ।

    गत साता जाकापा विभागको रियो होन्डोसहरमा सांसद जुलियो पोर्टिलोलाई लक्षित गरी गरिएको सशस्त्र आक्रमणमा उहाँसहित तीन प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

    जाकापा क्षेत्रमा लागूऔषध कारोबारमा लोरेन्जाना परिवारको समूहको प्रभाव रहेको छ । उक्त समूहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।

    शुक्रबार अमेरिकाले लोरेन्जाना परिवारको समूहलाई आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो । यसैगरी, इजाबाल क्षेत्रमा प्रभावशाली रहेको मेन्डोसा परिवारको समूहलाई पनि अमेरिकाले आतङ्कवादी सङ्गठनका रूपमा सूचीकृत गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan