न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला
तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेल २२ रनले जितेको छ । यस जितसँगै भारतले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।
दुई सय १० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले महत्वपूर्ण समयमा विकेट गुमायो । टोली १८७ रनमा समेटियो र सात वर्षयता पहिलो पटक घरेलु मैदानमा एकदिवसीय शृङ्खला हार्न पुग्यो ।
माउन्ट माउन्गानुईको बलरहरूलाई सहयोग पुग्ने वातावरणमा भारतीय तीव्र गतिका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । यसमा अर्शदीप सिंहको भूमिका मुख्य रह्यो; उनले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कम स्कोर बनेको यस शृङ्खलामा उनले कुल आठ विकेट हात पारे ।
सत्ताईस वर्षीय अर्शदीपले चौथो खेलमा शतक प्रहार गरेका विल योङ (२२ रन) र निक केली (२४ रन) लाई सस्तैमा आउट गर्दै घरेलु टोलीलाई दबाबमा पारे ।
त्यसपछि उनले अलराउन्डर क्रिस्टियन क्लार्क (१६ रन) लाई पनि पेभेलियन फर्काए । न्युजिल्यान्डले अन्तिमतिर खेल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन; टोलीका लागि डिन फक्सक्रोफ्टले सर्वाधिक ३१ रन बनाए ।
न्युजिल्यान्डका बलरहरू ज्याकब डफी र मिचेल सान्टनरले समान तीन–तीन विकेट लिए । भारतीय टोली ४२.१ ओभरमा २०९ रन बनाएर अलआउट भएको थियो ।
रोहित शर्मा र विराट कोहली जस्ता दिग्गज खेलाडीहरू सस्तैमा आउट भएपछि भारत ३४–३ को कमजोर स्थितिमा पुगेको थियो । तर, अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले । पूरा शृङ्खलाभरि नै ब्याट्सम्यानहरू रन बनाउन सङ्घर्षरत देखिए ।
वर्षाले प्रभावित दुई खेल जितेर भारत २–० ले अघि थियो, जबकि तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई ८९ रनमै समेट्दै २४४ रनको विशाल जित निकालेको थियो ।
आइतबारको खेलमा न्युजिल्यान्डले केही कमजोर टोली मैदानमा उतारेको थियो । बिहीबार वेलिङ्टनमा सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाको तयारीका लागि न्युजिल्यान्डका धेरै प्रमुख खेलाडीहरूलाई विश्राम दिइएको थियो ।


