नारायणीमा महोत्सवको झल्को दिनेगरी छठ पर्व मनाइँदै
नारायणगढ (चितवन), २९ कात्तिक: गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको नारायणगढस्थित नारायणी नदी किनार आज बेहुलीझै सिँगारिएको छ । छठ पूजाका लागि झिलिमिली बत्ती, आकर्षक स्वागतद्वार, पूजाका लागि बनाइएका सजावटयुक्त पाल र विभिन्न पूजा मण्डपले नारायणी किनारलाई उत्सवमय बनाएको छ ।
नारायणी नदी किनारमा साँझपख व्रतालु तथा भक्तजनको बाक्लो भीड लागेको छ । नदी किनारमा बनाइएका पालमा व्रतालुहरू पूजा आराधनामा व्यस्त छन् भने कतिपयले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । नदीको गहिराइतर्फ जान नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ । नदी किनारको माथिल्लो भागमा बनाइएको मञ्चबाट पूजासम्बन्धी धार्मिक मन्त्रोच्चारण भइरहेको छ । समग्रमा नारायणी किनारको वातावरण उल्लासमय बनेको छ ।
नारायणी किनारमा यस वर्ष छठ पर्व मनाउन तराईवासीसँगै पहाडी समुदायका भक्तजनको पनि उल्लेख्य सहभागिता देखिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढको आयोजनामा भएको छठ पूजाका लागि यसपालि आकर्षक स्वागतद्वार, झिलिमिली पाल तथा आकर्षक मूर्ति राखिएका छन् ।
समितिका अध्यक्ष जयकिशोर पाण्डेयका अनुसार यस वर्ष छठ पूजामा १० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएकामा अपेक्षाभन्दा बढी भक्तजन आएका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या बढेको उहाँले बताउनुभयो । पूजा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । समितिले आफ्नै तर्फबाट पनि सुरक्षागार्ड परिचालन गरेको र अहिलेसम्म शान्तिपूर्ण वातावरणमा पूजा भइरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कतिपय व्रतालु आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेछन् भने कतिपय भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन पुन: नदी किनारमा आउनेछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि चार दिनसम्म मनाइने छठ पर्व समापन हुनेछ ।
पर्वको मुख्य विशेषता जलाशयमा उभिएर अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिइ पूजा गर्नु हो । छठ पर्व प्रकृति र पञ्चतत्वको पूजासँग जोडिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । सूर्य, जल, माटो, वायु र आकाशको महत्व दर्शाउने यस पर्वमा नदी तथा जलाशयमा पुगेर पूजा र अर्घदान गर्ने धार्मिक परम्परा रहेको उहाँको भनाइ छ ।
नारायणी, त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल भएकाले नारायणी नदी किनारमा छठ पूजाको विशेष धार्मिक महत्व रहेको उहाँले बताउनुभयो । यहाँ काठमाडौँलगायत देशका विभिन्न स्थानबाट समेत भक्तजन आएर पूजा गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणी किनारमा यस वर्ष हर्षोल्लासका साथ छठ पर्व मनाइएको बताउनुभयो । साँझ छठ पूजास्थल पुग्नुभएका उहाँले पूजामा सहभागी भई भक्तजनलाई उत्साहका साथ पर्व मनाउन शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “आज यहाँ निकै भक्तजन आएको देखेँ । तराईमा पनि यस किसिमको देखेको थिइन् ।” उहाँले शान्ति र सद्भाव कायम राख्दै परम्पराअनुसार उत्साहका साथ छठ मनाउन सबैलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नारायणी नदी छठ पर्व मनाउने प्रमुख गन्तव्य भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले नदी किनारमा प्रहरी सहायता कक्ष स्थापना गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गरिने जानकारी दिनुभयो ।
नदीमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि डुङ्गालगायत उद्धार उपकरण तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । नारायणी किनारसँगै जिल्लाका विभिन्न नदी तथा तलाउमा पनि छठ पर्व मनाइँदैछ ।


