Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | रासस

 

झापा, २८ कात्तिकः जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् ।

हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताउनुभयो । 

 

उहाँका अनुसार भारतबाट दैनिक करिब १०० को सङ्ख्यामा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन् । “बाहुनडाँगीको विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको छ,” उप्रेतीले भन्नुभयो ।

 

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतिर सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताउनुभयो । धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ । स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्र्याउने याममा हरेक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्न सुझाव दिनुभयो । 

 

हात्ती नियन्त्रण गर्न परिचालित स्वयम्सेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर निकै प्रभावकारी देखिएको बताउनुभयो ।

 

स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताउनुभयो । 

 

स्थानीयको मागबमोजिम नयाँ योजनाका साथ काम अघि बढाइने प्रतिबद्धता जनाउँदै उहाँले सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिनुभयो ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan