Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस)

गण्डकी, २७ कात्तिकः अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । 

उहाँका अनुसार गत आव २०८२/८३ मा मनाङको हुम्डेमामा छाडा कुकुरको आक्रमणबाट चारवटा कस्तुरीमृग मरेका थिए । आव २०८१/८२ मा हुम्डेमै एउटा कस्तुरीमृग र आव २०८०/८१ मा मुस्ताङमा तीनवटा कस्तुरीमृग, एउटा स्याल, कास्कीको घान्द्रुकमा एउटा रतुवामृग र मनाङमा एउटा नाउरलाई छाडा कुकुरले सिकार गरेको थियो । 

“अन्नपूर्ण संरक्षण क्षेत्रका वन्यजन्तु बर्सेनि छाडा कुकुरको सिकार बन्ने गरेका छन्”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “कुकुर नियन्त्रणका लागि गत वर्ष मात्र ३५५ कुकुरको बन्ध्याकरण गरिएको थियो ।” हिंस्रक स्वभाव भएका र बेवारिसे छाडिएका घरपालुवा कुकुरले वन्यजन्तुमाथि आक्रमण गर्ने गरेको उहाँको भनाइ छ । 

छाडा कुुकुरले घरपालुवा जनावरमाथि पनि आक्रमण गर्ने गरेको स्थानीयवासी बताउँछन् । छाडा कुकुरले हिमाली तथा उच्च पहाडी भेगमा चौरीमा बाच्छाबाच्छीमाथि बढी आक्रमण गर्ने गरेका छ । आयोजना प्रमुख डा कडरियाले संरक्षण क्षेत्रको भ्रमणमा आउने गरेका पर्यटकलाई पनि त्यस्ता कुकुरले दुःख दिने गरेको सुनाउनुभयो । कुकुरलाई छाडा नछोड्न समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । 

छाडा कुकुरको आक्रमणसँगै अवैध चौरीसिकार, सवारीसाधनको ठक्कर आदि कारणले पनि यस क्षेत्रमा वन्यजन्तु मर्ने गरेका छन् । आयोजना कार्यालयको आँकडा अनुसार पछिल्लो तीन वर्षमा २५ वन्यजन्तुको अवैध सिकार गरिएको थियो भने सात वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेका थिए । 

“बढीजसो पासो थापेर र घरेलु बन्दुक प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरिएको छ”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “चोरीसकार नियन्त्रणका लागि सुरक्षा गस्ती बढाइएको छ, ड्रोनबाटसमेत निगरानी गर्ने गरिएको छ ।” कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । 

यस क्षेत्र हिउँचितुवा, कस्तुरीमृग, नाउर, हिमाली थारजस्ता जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । यहाँ विभिन्न प्रकारका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी तथा सरिसृपहरू पाइने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan