पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
पोखरा, २७ कात्तिकः कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ ।
तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन् । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार पर्यटक सूचना केन्द्रको तथ्याङ्कमा उक्त सङ्ख्या देखिएको हो । सिक्लेस पुगेका पर्यटकमध्ये अधिकांश आन्तरिक र नौ जना विदेशी रहेका छन् ।
एकैदिन ठूलो सङ्ख्यामा पर्यटक पुगेपछि स्थानीय होटल तथा होमस्टेमा पाहुना व्यवस्थापन गर्न कठिनाइ भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । केही होटल तथा होमस्टे सञ्चालक तिहार मनाएर गाउँ नफर्किएका कारण व्यवस्थापनमा थप समस्या भएको उहाँको भनाइ छ । पर्यटकको चाप व्यवस्थापन गर्न भ्रमणअघि जानकारी गराउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम जानकारी र बुकिङ नगरी ठूलो सङ्ख्यामा पर्यटक पुग्दा होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताउनुभयो । यद्यपि गाउँमा आफन्त तथा स्थानीयका घरमा राखेर भए पनि पर्यटकको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
दसैँतिहारपछि सिक्लेस आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गर्न अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ । उहाँका अनुसार सिक्लेसमा ३२ होटल र ३७ होमस्टे सञ्चालनमा छन् । ती होटलमा एक हजार २०० र होमस्टेमा ३५० जना पाहुना राख्न सकिन्छ ।
गाउँका अन्य घरमा समेत पाहुना व्यवस्थापन गर्दा एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि अग्रिम जानकारीबिना पर्यटक पुग्दा व्यवस्थापनमा समस्या हुने उहाँले बताउनुभयो ।
सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको आगमनले स्थानीयको आम्दानी र रोजगारी बढाएको बताउनुभयो । उहाँका अनुसार गाउँका होटल तथा होमस्टेमा करिब १०० स्थानीयले रोजगारी पाएका छन् । पर्यटकको चाप बढ्दा सञ्चालकका परिवारका सदस्यले समेत पाहुना व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् ।
पोखराबाट ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घर छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा आउने अधिकांश पर्यटक प्रख्यात पर्यटकीय गन्तव्य कोरी र क्हफुचे हिमतालसम्म पदयात्रा गर्न पुग्ने गरेका छन् ।


