Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिक प्रहरीको सक्रियता : एकै पटक ५० चोरीका मोटरसाइकल र स्कुटर फेला, तीन महिनामा ३०३ सवारीधनीको खुशी फर्कियो

प्रविधि र जनशक्तिको संयोजनबाट चोरी नियन्त्रणमा आक्रामकता, ३४ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौं, २० कात्तिक । सुझबुझपूर्ण नेतृत्व, दूरदर्शी कमाण्ड र परिणाममुखी कार्यशैलीले प्रहरी संगठनको प्रभावकारिता बढाउन सक्छ भन्ने उदाहरण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पछिल्लो सक्रियताले देखाएको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले कमाण्ड सम्हालेपछि हराएका तथा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधनको खोजतलास र बरामद गर्ने अभियानले थप गति लिएको छ ।

सडकमा सवारी व्यवस्थापनसँगै नागरिकको सम्पत्ति सुरक्षालाई पनि प्राथमिकतामा राखेको ट्राफिक प्रहरीले पछिल्लो पटक चोरी भएका ५० वटा सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बरामद गरिएका सवारीसाधनमा २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् । लामो समयदेखि आफ्नो सवारीसाधन हराएर निराश बनेका धनीहरूका लागि प्रहरीको यो सक्रियता राहत र खुसीको विषय बनेको छ ।

एसएसपी काफ्लेको नेतृत्वमा ट्राफिक प्रहरीको काम केवल सडकमा सवारीसाधनको आवागमन व्यवस्थित गर्नेमा मात्र सीमित नभई नागरिकको दैनिक जीवन, सम्पत्ति र सुरक्षासँग प्रत्यक्ष जोडिनुपर्ने मान्यताका साथ अघि बढेको देखिन्छ ।

हरेक काम सिर्जनशील, प्रभावकारी र परिणाममुखी हुनुपर्छ भन्ने नेतृत्वको सोचले खोजतलास अभियानलाई थप प्रभावकारी बनाएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मोटरसाइकल अहिले सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सवारीसाधन हो । मानिसको सपना, संघर्ष, खुसी र भावनात्मक सम्बन्धसमेत जोडिएको सवारीसाधन चोरी हुनु सामान्य घटना नभई गम्भीर आपराधिक कार्य हो ।

प्रवक्ता सुवेदी भन्छन्, ‘सडक सञ्जालको विकाससँगै मानिसको व्यस्त जीवनलाई व्यवस्थापन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी सवारीसाधन मोटरसाइकल बनेको छ । यसमा मानिसको सपना, संघर्ष र खुसी जोडिएको हुन्छ ।

अर्काको सम्पत्ति खोसेर आफू खुसी बन्न खोज्नु गम्भीर अपराध हो । यस्तो कार्यमा संलग्नलाई निर्मम कानुनी कारबाही गर्नुपर्छ । त्यसका लागि हामीले मानवीय जनशक्तिसँगै प्रविधिको उच्चतम प्रयोग गरेर निगरानी बढाइरहेका छौँ ।’

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै खोजतलासका क्रममा ३०३ वटा सवारीसाधन फेला पारिएका छन् । त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जना व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी परिसरमा पठाइएको छ ।

यसै अवधिमा तीनवटा चारपाङ्ग्रे सवारीसाधन र दुईवटा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । यसले चोरीका सवारीसाधनको खोजी मात्र नभई अवैध रूपमा सवारीसाधन ओसारपसार तथा कारोबार गर्ने गतिविधिमाथि समेत निगरानी बढाइएको संकेत गर्छ ।

सुरक्षामा नागरिकको सतर्कता पनि उत्तिकै आवश्यक

प्रहरीको सक्रियतासँगै सवारीसाधन धनी स्वयं पनि सचेत हुनुपर्ने ट्राफिक प्रहरीको सुझाव छ । व्यक्तिगत सतर्कता, भौतिक सुरक्षा र आधुनिक प्रविधिको संयोजनबाट मात्रै सवारीसाधन चोरी नियन्त्रणलाई प्रभावकारी बनाउन सकिन्छ ।

एसएसपी काफ्लेले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक र डिस्क लक प्रयोग गर्न, सुरक्षा साइरन तथा जीपीएस जडान गर्न र मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध गरेका छन् ।

उनका अनुसार चोरी नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई नागरिकको सावधानी र सहकार्य पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।

सवारीसाधन हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न सकिने व्यवस्था छ । त्यस्तै, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएर खोजतलास प्रक्रिया अघि बढाउन सकिन्छ ।

नागरिकको सम्पत्ति संरक्षण, प्रविधिको प्रयोग र प्रभावकारी अनुसन्धानलाई प्राथमिकता दिँदै अघि बढेको ट्राफिक प्रहरीको यो अभियानले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक व्यवस्थापनसँगै नागरिकको हराएको खुसी फर्काउने कामले प्रहरी सेवाको वास्तविक अर्थ पनि स्थापित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan