‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
विराटनगर, २५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष कात्तिक २५ गते भाषा दिवस मनाउने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, समाज सुधारक तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्तीका अवसरमा महागुरु लिङ्देनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ ।
प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन आजैदेखि कार्यान्वयनमा ल्याउने घोषणा गर्दै मुख्यमन्त्री कार्कीले सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेदको अन्त्य गर्न उहाँको योगदान उच्च रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणका लागि महागुरु फाल्गुनन्दले पुर्याउनुभएको योगदान अतुलनीय छ भन्दै सत्य, शान्ति, मानवता र समाजिक सुधारको मार्ग तथा उहाँका अमूल्य शिक्षाहरू आज पनि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको जनाउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “भाषा केवल सञ्चारको माध्यममात्र होइन, यो कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार हो । कुनै भाषा लोप हुनु भनेको त्यस भाषासँग जोडिएको ज्ञान, परम्परा, इतिहास र सांस्कृतिक सम्पदा गुम्नु पनि हो । त्यसैले प्रदेशमा प्रचलित सबै भाषा तथा मातृभाषाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । प्रदेशको सरकारी कामकाजमा भाषाको प्रयोग विस्तार गर्दै भाषिक विविधतालाई संस्थागत सम्मान प्रदान गर्ने दिशामा आजको दिन एउटा महत्त्वपूर्ण उलब्धि र ऐतिहासिक प्रस्थानबिन्दु बनेको विश्वास छ ।”


