Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको जिम्मा विकास समितिलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | रासस

रूपन्देही, १३ कात्तिकः रुपन्देहीको बुटवलस्थित बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी र पूर्वाधार विकासमन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आज यहाँ आयोजित कार्यक्रममा सम्मेलन केन्द्रको जिम्मेवारी समितिलाई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा वरिष्ठ डिभिजनल इन्जिनियर कीर्तिकान्त साहले ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१’ बमोजिम आवश्यक सम्पूर्ण कागजात समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गर्नुभयो ।

    जिम्मेवारी ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सम्मेलन केन्द्रलाई पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री ढङ्गले सञ्चालन गरिने बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवाग्राहीको सन्तुष्टि र संस्थाको प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

    उहाँले वर्तमान सरकारको कार्यशैलीअनुसार सम्मेलन केन्द्रको पूर्ण क्षमतामा उपयोग हुने गरी सञ्चालन तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    बुटवलमा निर्माण गरिएको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मुख्य सभाहलसहित विभिन्न क्षमताका बहुउद्देश्यीय हल रहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने यस केन्द्रमा एकैपटक हजारौँ सहभागीलाई समेट्न सकिने क्षमता रहेको छ ।

    सम्मेलन केन्द्रमा अत्याधुनिक ध्वनि तथा प्रकाश प्रणाली, मल्टिमिडिया डिस्प्ले, अन्तरराष्ट्रियस्तरको मञ्च, पर्याप्त पार्किङ, हरियाली पार्क, खाजाघर, विशिष्ट कक्ष तथा अपाङ्गतामैत्री पूर्वाधार रहेका छन् ।

    व्यवस्थापनको जिम्मेवारी हस्तान्तरणसँगै लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको सम्मेलन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । यसको सञ्चालनले बुटवलसहित समग्र लुम्बिनी प्रदेशको आर्थिक, पर्यटकीय तथा व्यापारिक गतिविधिमा योगदान पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan