प्रधानमन्त्री बालेनको चासोपछि समाचार कक्षबाट पक्राउ परेका तीनै पत्रकार रिहा
काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले नियन्त्रणमा लिएका तीनै जना पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।
शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीसहित तीन जना पत्रकारलाई प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट नियन्त्रणमा लिएको थियो। समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको थियो।
घटनाप्रति सञ्चार क्षेत्रबाट व्यापक चासो र विरोध व्यक्त भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले समेत चासो देखाएका थिए। प्रधानमन्त्रीको चासो र निर्देशनपछि पक्राउ परेका पत्रकारहरू रिहा भएका हुन्।
सञ्चारमन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
पत्रकार रिहा हुनु तत्कालका लागि सकारात्मक भए पनि समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न भने अनुत्तरित छ।
पत्रकारलाई पक्राउ गर्नुको कानुनी आधार, अनुसन्धानको प्रक्रिया र समाचार कक्षमा प्रहरी प्रवेशको औचित्यबारे सरकारले स्पष्ट पार्नुपर्ने देखिन्छ।
पत्रकारको रिहाइसँगै तत्कालीन विवाद साम्य भए पनि प्रेस स्वतन्त्रताको सम्मान व्यवहारमै देखिनुपर्ने सन्देश यस घटनाले दिएको छ।

