सेनाद्वारा आरुघाटमा बेलीब्रिज हस्तान्तरण, धादिङ–गोरखा सडक सम्पर्क पुनः सहज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि सेनाको सक्रियता, दुई दिनमै बेलीब्रिज जडान
नेपाली सेनाले धादिङ र गोरखा जिल्लाको मुख्य सडक सञ्जाल जोड्ने आरुघाट ब्रिज जडान कार्य सम्पन्न गरेको छ ।
काठमाडौं, कार्तिक २। बूढीगण्डकी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित पुलको विकल्पमा नेपाली सेनाले बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले बेलीब्रिज जडान कार्य सम्पन्न गरी सोमबार उक्त पुल हस्तान्तरण गरेको हो।
२०८३ असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि धादिङ र गोरखाबीचको सडक सम्पर्क प्रभावित भएको थियो।
पुलमा क्षति पुगेपछि स्थानीय नागरिकको आवतजावत, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ उत्पन्न भएको थियो।
प्रभावित क्षेत्रको आवागमन सहज बनाउने उद्देश्यले नेपाली सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडान कार्य सुरु गरेको थियो।
सेनाले आवश्यक प्राविधिक जनशक्ति परिचालन गरी कात्तिक १ गते नै जडान कार्य सम्पन्न गरेको हो। त्यसपछि कात्तिक २ गते पुल गोरखा सडक आयोजनालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

