काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको बुल्गेरियाले जनाएको छ।
आक्रमणपछि बेपत्ता भएका ११ जना चालक दलका सदस्यको खोजीकार्य जारी छ। अन्य पाँचजनालाई उद्धार गरिएको छ। आक्रमण बुल्गेरियाको विशेष आर्थिक क्षेत्र (ईइजेड) र आसपासको जलक्षेत्रमा भएको जनाइएको छ।
डुबेका जहाजमध्ये एउटा गिनी–बिसाउमा दर्ता भएको ‘डिग्निटी’ नामक कार्गो जहाज हो। अर्को ‘चेल्सी–३’ युक्रेनी स्वामित्वको जहाज हो, जुन ओडेसामा दर्ता भएको र माल्टाको झण्डामुनि सञ्चालन हुँदै आएको थियो।
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेभले संसद्मा बोल्दै आक्रमणबाट रुसलाई फाइदा पुग्ने भएकाले त्यसमा मस्कोको हात हुन सक्ने तर्क गर्नुभयो । तर, यसलाई प्रमाणित गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।
रादेभले मङ्गलबार सोफियास्थित रुसी राजदूतलाई बोलाएर घटनाबारे जानकारी माग्नुभएको थियो । राजदूतले रुसी रक्षा मन्त्रालयबाट कुनै जानकारी नपाएको बताउँदै आक्रमण तेस्रो पक्षको उक्साहट हुन सक्ने सम्भावना पनि औँल्याउनुभएको थियो ।
बुल्गेरियाली अधिकारीका अनुसार ‘डिग्निटी’ जहाज डुबेपछि उद्धार गरिएका चारजना नाविकमध्ये तीनजना सिरियाली र एकजना इजिप्टेली नागरिक छन्। उनीहरूलाई भार्ना बन्दरगाह पु¥याइएको छ। उद्धार गरिएका नाविकको अवस्था सामान्य रहेको जनाइएको छ।
बुल्गेरियाले घटनाको अनुसन्धानमा अन्तरराष्ट्रिय सहयोग माग्नुका साथै निगरानी प्रणाली सुदृढ गर्न र ड्रोनविरुद्ध प्रतिकार्य क्षमता बढाउन नेटोसँग सहयोग मागेको छ।
राष्ट्रपति इलियाना योतोभाले काला सागरमा शत्रुतापूर्ण गतिविधि रोक्न र व्यावसायिक तथा नागरिक पूर्वाधारमाथि ड्रोन आक्रमण बन्द गर्न आह्वान गर्नुभएको छ । उहाँले क्षेत्रीय सुरक्षा जोखिमलाई ध्यानमा राख्दै रोमानिया र टर्कीसँग समन्वयात्मक कदम चालिएको पनि बताउनुभएको छ ।

