नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु
काठमाडौं, असोज २७ गते । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी छन्। प्रशिक्षण हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ।
प्रशिक्षणका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको हो। टोलीमा मेरुदण्डको चोट पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि छन्।
प्रशिक्षणमा नेपालका कृष्ण थापा र श्रीराम श्रेष्ठ प्रशिक्षकका रूपमा सहभागी छन् भने अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालाको पनि सहभागिता छ। कार्यक्रमका लागि नेपाल रग्बी संघले प्रशिक्षक तथा रेफ्री व्यवस्थापनमा सहयोग र सहकार्य गरेको छ।
प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, खेलाडीको शारीरिक क्षमता विकास, चोट रोकथाम तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।
नेपालमा ह्विलचेयर रग्बीको जग बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तयार गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

