धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता
भक्तपुर, २४ असोजः नगद रु ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।
आज सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोस्रो हुँदै रु ५० हजार नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
नगरभित्रका १३ वटा धिमे बाजा टोलीको प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धी सबै टोलीले धिमेबाजा टोलीलाई नगरपालिकाले नगद रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगततर्फबाट सहभागी १० वटा टोलीलाई थप रु पाँच/पाँच हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले विजयी टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
