Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँदरको आतङ्कपछि अदुवा र बेसारखेती गर्दै किसान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | (रासस)

सुनसरी, २४ असोजः बाँदरको आतङ्कका कारण धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका किसान परम्परागत धान, मकै र कोदोखेती छाडेर अदुवा तथा बेसारखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले बाली नष्ट गर्न थालेपछि कतिपय किसानले खेतबारी बाँझै छाडेका छन् भने केहीले बाँदरले कम क्षति पुर्‍याउने अदुवा र बेसारखेती गर्न थालेका हुन् ।

    कुनै समय अम्लिसो उत्पादनका लागि परिचित यस क्षेत्रमा बाँदरले अम्लिसोको कलिलो सुइरोसमेत खाइदिने गरेपछि यसको खेती घट्दै गएको स्थानीय किसानको भनाइ छ । धरान-२० का किसान पदम राईले व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएको छ । 

    उहाँले वार्षिक १० देखि ११ क्विन्टलसम्म अदुवा उत्पादन गरी बिक्री गर्दै आएको बताउनुभयो । “पहिले मकैखेती गर्थें । बाँदरले दुःख दिन थालेपछि अदुवाखेती गर्न थालेको हुँ । बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ”, उहाँले भन्नुभयो ।

    मौसमले साथ दिएमा अदुवाखेतीबाट मनग्य आम्दानी हुने राईले बताउनुभयो । गत वर्षको तुलनामा अहिले बजारमा अदुवाको मूल्य राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक रहेको उहाँको भनाइ छ । कहिलेकाहीँ सामान्य रोग तथा कीराको सङ्क्रमण देखिए पनि ठूलो नोक्सान हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

    अदुवासँगै लसुन र बेसारखेती गर्दै आउनुभएका राईले वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । मौसम अनुकूल हुनुका साथै रोग तथा कीराको सङ्क्रमण नदेखिए अदुवाखेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

    शिक्षण पेसा छाडेर व्यावसायिक अदुवाखेतीमा लाग्नुभएका अर्का किसान तिलक राईले पनि अदुवाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले वार्षिक सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको बताउनुभयो । गत वर्ष अदुवा खुद्रा बजारमा प्रतिकिलो रु १५० देखि रु २८० सम्ममा बिक्री भएकाले यस वर्ष पनि सोहीअनुसार मूल्य आउनेमा सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

    अदुवाखेतीका लागि केही भिरालो ठाउँ र खुकुलो माटो आवश्यक पर्ने उहाँले बताउनुभयो । “जमिन राम्रो भयो भने अदुवाखेतीबाटै मनग्य आम्दानी गर्न सकिन्छ । पहिले गाउँमा अधिकांश किसानले मकै र कोदोखेती गर्थें । अहिले बाँदरको समस्याका कारण धेरैले अदुवा र बेसार खेती गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।

    राईका अनुसार विष्णुपादुकामा अहिले २०० भन्दा बढी किसान अदुवाखेतीमा संलग्न छन् । उहाँले अदुवाखेतीसँगै अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषिउपज उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आउनुभएको छ । यहाँ उत्पादित अदुवा र बेसार किसानले बिक्रीका लागि धरानस्थित कृषिउपज बजार तथा धरान-११ को मङ्गलबारे बजारमा ल्याउने गरेका छन् ।

    धरान-२० का स्थानीय ध्रुव साम्पाङ राईले बाँदरको आतङ्कका कारण खेतीपाती गर्नै छाड्नुपर्ने अवस्था आएको बताउनुभयो । बाँदरको समस्याकै कारण सो क्षेत्रमा करिब ८० प्रतिशत जग्गा बाँझो रहेको उहाँको भनाइ छ । बाली जोगाउन बाँदरको दिनरात निगरानी गर्नुपर्ने भएकाले खेती गर्न कठिन भएको उहाँले बताउनुभयो । 

    बाँदर नियन्त्रणका लागि स्थानीय तहले विगतमा गरेका प्रयाससमेत प्रभावकारी हुन नसकेको साम्पाङको भनाइ छ । “बाँदरलाई नियन्त्रण गरेर अन्यत्र पठाउँदा पनि फेरि फर्किएर आउने समस्या छ । नियन्त्रण गरिएका बाँदरलाई कहाँ व्यवस्थापन गर्ने भन्ने पनि चुनौती छ”, उहाँले भन्नुभयो । बाँदरको समस्या धरानमा मात्र नभई देशका विभिन्न ठाउँमा रहेको उल्लेख गर्दै साम्पाङले यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले स्पष्ट नीति र प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरानस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । धरान आसपासका क्षेत्रमा उत्पादित अदुवाका साथै कोशी कोरिडोरअन्तर्गतका पहाडी जिल्लाबाट पनि ठूलो परिमाणमा अदुवा बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो । सगरमाथा कोरिडोरअन्तर्गत सिन्धुलीलगायत क्षेत्रबाट समेत किसान अदुवा बिक्रीका लागि धरान आउने गरेको उहाँको भनाइ छ ।

    विशेषगरी जेठदेखि भदौसम्म अदुवाको बिक्री बढी हुने गरेको भट्टराईले बताउनुभयो । धरान कृषिउपज बजारबाट दैनिक १०० देखि २०० मेट्रिक टनसम्म अदुवा बिक्री हुने गरेको छ । धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङलगायत जिल्लाबाट समेत किसानले अदुवा धरान बजारमा ल्याउने गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan