Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई जलविद्युत् परियोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौं । लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

 प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा आज बसेको बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।

बैठकले नार खोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र सानी भेरी–३ जलविद्युत् परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ। दुवै परियोजनाको कुल स्वीकृत लगानी २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयलाई अघि बढाएको छ। ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा परियोजना विकास सम्झौतामा भएका प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।

बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्दै प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

त्यस्तै, बोर्डले आह्वान नगरेका प्रस्तावहरू आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिएको छ।

बैठकले कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्‍याउने योगदानलाई समेत ध्यानमा राखी त्यस्ता परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णय गरेको छ।

लगानी बोर्डका यी निर्णयले जलविद्युत् क्षेत्रमा लगानी विस्तार, ठूला पूर्वाधार परियोजनाको कार्यान्वयन र नवीनतम प्रविधिमा आधारित परियोजनाको विकासलाई अघि बढाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan