ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी
एथेन्स, २२ असोज : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक भौगोलिक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरता तथा राष्ट्रहरूको स्वतन्त्र निर्णय क्षमतामा असर पार्नसक्ने चेतावनी दिनुभएको छ ।
ग्रिसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँग एथेन्समा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग विकास गर्न तथा भूराजनीतिक हस्तक्षेपबाट ऊर्जा प्रवाह सुरक्षित राख्न अन्तर्राष्ट्रिय गठबन्धन बलियो बनाउन अमेरिकाले लगानी गरिरहेको बताउनुभयो ।
“ऊर्जा आपूर्ति वा विश्वको कुनै एक भागबाट हुने ऊर्जा प्रवाह अवरुद्ध हुँदा सम्पूर्ण विश्व जोखिममा पर्ने अवस्था हामीले कहिल्यै स्वीकार गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
इरानसँगको तनाव र हर्मुज जलघाँटीको समुद्री सुरक्षाबारे बढ्दो चिन्ताका बीच रुबियोले तेल, प्राकृतिक ग्यासलगायत ऊर्जा आपूर्तिका मार्ग विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा सुरक्षा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताउँदै क्षेत्रीय अस्थिरताले विश्वव्यापी ऊर्जा बजारका कमजोरी उजागर गर्ने उल्लेख गर्नुभयो ।
अमेरिकाले भूमध्यसागर क्षेत्रका ऊर्जा स्रोतलाई युरोपेली बजारसँग जोड्ने पूर्वाधार विस्तारमा ग्रिसलाई सहयोग गरिरहेको छ । ग्रिसले अमेरिकी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) युरोप पुर्याउने ‘भर्टिकल करिडोर’ सञ्जाल तथा क्षेत्रीय ऊर्जा परियोजनामा सहयोग गरिरहेको गेरापेट्रिटिसले बताउनुभयो ।
ग्रिसको स्वामित्वमा रहेका व्यावसायिक जहाजले विश्वव्यापी एलएनजीको २० प्रतिशतभन्दा बढी ढुवानी गर्ने उहाँले जानकारी दिनुभयो । रुबियोले नयाँ ग्यास तथा विद्युत् सञ्जालमार्फत ग्रिसको एलएनजी आयात क्षमता विस्तार गर्ने अमेरिकी लक्ष्य रहेको बताउनुभयो ।
छलफलमा समुद्री सुरक्षा, जलमार्गमा आवागमनको स्वतन्त्रता र विश्वव्यापी आपूर्ति शृङ्खलाको संरक्षणका विषयसमेत उठेका थिए । गेरापेट्रिटिसले परिस्थितिले अनुमति दिएमा र विश्वसनीय शान्ति पहल अघि बढेमा हर्मुज जलघाँटीमा नौसैनिक सहयोगबारे छलफल गर्न ग्रिस तयार रहेको बताउनुभयो ।
