सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगन
सुदूरपश्चिम, २२ असोजः सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिए थियो ।
प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय भएको जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ः०० बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ः०० बजे बस्नेगरी समय निर्धारण गरिएको जानकारी दिनुभयो ।
“प्रदेश सरकारबाट अनुरोध भएअनुसार हामीले आज बिहान ८ः०० बजे बस्नेगरी बैठकको तयारी गरेका थियौँ, तर बैठक बस्न सकेन । सरकारको आग्रहमै अब २४ गते बिहान बस्नेगरी समय निर्धारण गरेका छौँ”, उहाँले भन्नुभयो ।
हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो ।
यहाँ गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो ।
