२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
काठमाडौँ, ६ असोजः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबाहदुर थापा पराजित भएका छन् । उनी भारतीय खेलाडीसँग पराजित भएका हुन् ।
जापानको नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको खेलमा नेपाली बक्सर थापा पहिलो चरणमै पराजित भए । उनी भारतीय खेलाडी जादुमनी सिंह मन्डेङगबामसँग ५–० अङ्कले पराजित भएका हुन् । योसँगै जारी एसियाली खेलकुदमा उनको यात्रा टुङ्गिएको छ । बक्सर थापाले गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएका थिए ।
यसैगरी सोही स्थानमा आजै भएको महिला बक्सिङतर्फ ५१ किलो तौल समूहमा नेपालकी रमिशा श्रेष्ठ पराजित भइन् । उनी भियतनामकी खेलाडी एनगुयीन थी टमसँग ५–० अङ्कले नै पराजित भइन् ।
अब बक्सिङमा नेपालका रविन नेपाल (९० किलो), खगेन्द्र रोकामगर (६० किलो), चन्द्रबहादुर थापा (५५ किलो), अस्मिता दुवाल (५४ किलो) र कुसुम तामाङ (६५ किलो)ले प्रतिस्पर्धा गर्न बाँकी छ ।
