Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद्मा वाईसीएलको ‘फ्रन्टलाइन’ सेवा : उद्धारदेखि अस्थायी आवास निर्माणसम्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

विपद्मा वाईसीएलको ‘फ्रन्टलाइन’ सेवा : उद्धारदेखि अस्थायी आवास निर्माणसम्म

नुवाकोट, ५ असोज । बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका नेता तथा कार्यकर्ता अग्रभागमा खटिएका छन्।

विपद्को पहिलो दिन भदौ १० गतेदेखि नै वाईसीएलका टोलीहरू रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतसँगै निरन्तर श्रमदानमा जुटेका हुन्।

भदौ ११ गते रक्तदान कार्यक्रम सम्पन्न गरेपछि वाईसीएलका कार्यकर्ता प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा परिचालन भएका थिए। त्यसयता उनीहरूले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा प्रभावित नागरिकसँग समन्वय गर्दै उद्धार, राहत वितरण, सरसफाइ र पुनर्स्थापनाका कामलाई निरन्तरता दिँदै आएका छन्।

नुवाकोटमा परिचालित टोलीका फिल्ड कमान्डर एवं वाईसीएल नेपालका केन्द्रीय उपाध्यक्ष हरि ढकालका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले टोलीलाई विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।

“विपद्को समयमा नागरिकलाई तत्काल साथ र सहयोग आवश्यक हुन्छ। त्यसैले उद्धार र राहतपछि अहिले पुनर्स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ,” ढकालले बताउनुभयो।

उद्धारपछि पुनर्स्थापनामा जोड
विपद्को सुरुवाती चरणमा वाईसीएलका कार्यकर्ताले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा सक्रियता देखाएका थिए। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने, प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउने तथा अवरुद्ध क्षेत्रको सरसफाइमा उनीहरू परिचालित भएका थिए।

उद्धारको तत्कालीन चरण सकिएसँगै अहिले संगठनले पुनर्स्थापना र श्रमदानलाई प्राथमिकता दिएको जनाएको छ। बाढी तथा पहिरोका कारण घरभित्र पसेको हिलो, माटो र भग्नावशेष हटाउनेदेखि प्रभावित बस्ती तथा सार्वजनिक क्षेत्रको सरसफाइसम्मका काममा कार्यकर्ता खटिएका छन्।

घर पूर्ण रूपमा क्षति भएका तथा तत्काल बसोबासको समस्या भोगिरहेका परिवारका लागि अस्थायी आवास निर्माणलाई पनि अभियानका रूपमा अघि बढाइएको छ। वाईसीएलका अनुसार शौचालयसहित दुई कोठे अस्थायी आवास निर्माण भइरहेको छ।

यसबाट वर्षायाममा घरबारविहीन बनेका परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

औजार बोकेर मैदानमा राजनीतिक कार्यकर्ता
विपद्का बेला राहत र पुनर्स्थापनाका काममा राजनीतिक दल तथा तिनका भ्रातृ संगठनको सक्रियता देखिँदै आए पनि वाईसीएलले भने आफ्ना कार्यकर्तालाई प्रत्यक्ष श्रमदानमा परिचालन गरेको जनाएको छ।

बाढी र पहिरोले प्रभावित क्षेत्रमा कार्यकर्ता आफैँ औजार बोकेर हिलो, ढुंगा तथा भग्नावशेष हटाउन खटिएका छन्। कतिपय स्थानमा स्थानीय नागरिकसँगै घर तथा बस्ती सरसफाइमा उनीहरू सहभागी भएका छन्।

स्थानीयका अनुसार विपद्को समयमा भाषणभन्दा प्रत्यक्ष सहयोग महत्वपूर्ण हुने भएकाले श्रमदानमा आएका टोलीले प्रभावित परिवारलाई मनोवैज्ञानिक रूपमा समेत राहत दिएको छ।

निरन्तर परिचालनको दाबी
वाईसीएलले उद्धार तथा राहतको प्रारम्भिक चरणपछि काम सकिएको नठानी पुनर्स्थापनासम्मै आफ्नो उपस्थिति कायम राख्ने जनाएको छ। प्रभावित बस्तीको आवश्यकता पहिचान गरी स्थानीयस्तरमै उपलब्ध स्रोतसाधन प्रयोग गरेर सहयोग गर्ने अभियानलाई निरन्तरता दिने संगठनको भनाइ छ।

भदौ १० गतेदेखि सुरु भएको परिचालन असोजसम्म आइपुग्दा उद्धारबाट पुनर्स्थापनातर्फ केन्द्रित भएको छ। अस्थायी आवास निर्माण, सरसफाइ तथा श्रमदानलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने लक्ष्य वाईसीएलले अघि सारेको छ।

विपद्को घडीमा राजनीतिक गतिविधिभन्दा मानवीय सेवामा केन्द्रित भएर काम गर्ने प्रयासले स्थानीय तहमा संगठनको सामाजिक भूमिकाबारे नयाँ बहससमेत सुरु भएको छ।

प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि राज्यका निकाय, स्थानीय समुदाय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan