Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | रासस

बागलुङ, ४ असोजः बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् । पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा विशेषज्ञसहितको सेवाले निरन्तरता पाएको हो ।   

    धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माका अनुसार अस्पतालमा मनोरोग, नाक, कान तथा घाँटीसम्बन्धी, यौन तथा छाला रोग र प्याथोलोजी विभागले एक महिनादेखि नियमित सेवा सञ्चालन गरेका छन् । मनोरोग विभाग चिकित्सक अभावमा एक वर्षदेखि सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले १० महिनादेखि यौन तथा छाला रोग विभाग प्रभावित बनेको जानकारी दिनुभयो ।   

    पाँच महिनादेखि प्रभावित बनेको नाक, कान तथा घाँटी रोग विभाग र प्याथोलोजी विभाग पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो । “अस्पतालले विभागको सेवा अन्य चिकित्सकबाट दिँदै आएको थियो । विशेषज्ञ सेवा दिन सोही विभागको चिकित्सक आवश्यक पर्ने भएकाले चिकित्सक आपूर्ति गरी विभागलाई सक्रिय बनाएका छौँ”, उहाँले भन्नुभयो, “मनोपरामर्शदाताको अभावमा बिरामी पोखरा, काठमाडौँलगायत क्षेत्र जानुपर्ने बाध्यता अब भने अन्त्य भएको छ ।”   

    धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै थप चार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन सुरु गरेको छ । अस्पतालले नाक, कान तथा घाँटी रोग, छाला रोग, मनोरोग र प्याथोलोजीसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो । धौलागिरि अस्पताल बागलुङका अनुसार नाक, कान तथा घाँटी रोगतर्फ डा मनिष न्यौपाने, छाला रोगतर्फ डा सुभि रिजाल, मनोरोगतर्फ डा इला थापा र प्याथोलोजीतर्फ डा कविता घिमिरेबाट सेवा प्रदान भइरहेको छ ।   

    नाक, कान तथा घाँटी रोगतर्फ कान, नाक र घाँटीका समस्या, श्रवण तथा साइनोसाइटिस (साइनस) र घाँटीसम्बन्धी समस्या, इन्डोस्कोपी र शल्यक्रियासम्बन्धी सेवा उपलब्ध हुनेछ भने छाला रोगतर्फ छाला, कपाल र नङसम्बन्धी समस्या, एलर्जी तथा सङ्क्रमण, पिम्पल्स, दाग तथा छालाको सुन्दरतासम्बन्धी समस्या र लेजर तथा केमोथेरापी सेवा उपलब्ध हुनेछ ।

    मनोरोगतर्फ चिन्ता, तनाव तथा डिप्रेसन, मानसिक स्वास्थ्य परामर्श, निद्राको समस्या, बाल तथा वृद्ध मानसिक स्वास्थ्य र लत तथा व्यवहारसम्बन्धी उपचार तथा परामर्श सेवा दिइनेछ । प्याथोलोजीतर्फ रगत, पिसाब तथा दिसाको जाँच, हर्मोन तथा बायोकेमिस्ट्री, हिस्टोप्याथोलोजी र माइक्रोबायोलोजी परीक्षणलगायत सेवा उपलब्ध हुने धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो । अस्पतालमा अहिले १८ जना विशेषज्ञ तथा १३ जना मेडिकल अधिकृत कार्यरत छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan