धनगढीमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै
धनगढी, ४ असोजः कैलालीको धनगढीमा आगामी कात्तिक १३ गतेदेखि १५ गतेसम्म ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ हुने भएको छ । कैलाली बहुमुखी क्याम्पसअन्तर्गत उद्यमशीलता प्रवर्द्धन केन्द्र (इन्क्युबेसन सेन्टर)को आयोजनामा राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र एवं अन्य साझेदार संस्थाहरूको सहकार्यमा नवउद्यमी सम्मेलनको आयोजना हुने आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप तथा बजारको अवसरलाई पहिचान गरी तिनलाई व्यावहारिक, दिगो र लगानीयोग्य उद्यममा रूपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा राजेन्द्रवीर चन्दले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
सम्मेलनमार्फत उद्यमशील प्रतिभाको पहिचान तथा विकास, स्थानीय स्रोत र सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न चाहने युवालाई ‘मेन्टर सीप’ (परामर्शदाताको क्षमता विकास) गर्न र उद्यम सुरु गर्न आर्थिक सहयोग पनि गरिने उहाँको भनाइ छ ।
इन्क्युबेसन सेन्टरका सदस्यसमेत रहनुभएका कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले नवउद्यममा जान चाहने, विदेशमा सीप सिकेर फर्केका र स्वदेशमै केही गर्न चाहना भएकालाई सम्मेलन उपयुक्त मञ्च हुने विश्वास व्यक्त गर्नुभयो ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा लोकबहादुर विष्टले सम्मेलनमा सहभागिताका लागि छनोट भएका युवालाई तालिम दिइनुका साथै रोजगारीमा संलग्न हुन क्याम्पसले निश्चित रकम सहयोग गर्ने बताउनुभयो । बैंकबाट ऋण लिन समन्वय गर्नुका साथै स्थानीय तहसँग पनि समन्वय र सहकार्य गराएर काम गर्न सहयोग गर्ने उहाँको भनाइ छ ।
सम्मेलनमा सहभागिताका लागि स्वीकृत गरिने ७० वटा प्रस्तावमध्ये ३५ जना विद्यार्थी र ३५ व्यवसायीबाट रहने क्याम्पस प्रमुख विष्टले जानकारी दिनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्न विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।
सम्मेलनमा विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी एवं भर्खरै स्नातक पूरा गरेका व्यक्ति, युवा उद्यमी तथा प्रारम्भिक चरणका व्यवसायी, नयाँ व्यवसाय वा उद्यम सुरु गर्न इच्छुक युवा, प्राविधिक, व्यावसायिक वा व्यावहारिक सीप भएका युवा सहभागी हुन सक्ने जनाइएको छ ।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय समस्या, आवश्यकता वा बजार अवसर पहिचान गरेका व्यक्ति, नवीन, सिर्जनशील तथा सम्भावनायुक्त व्यावसायिक विचार भएका व्यक्ति तथा आफ्नो सीप, स्थानीय स्रोत वा प्रविधिलाई व्यवसायमा रूपान्तरण गर्न इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् ।
आवेदन दिनका लागि विस्तृत व्यवसाय प्रस्ताव, कम्पनी दर्ता वा सञ्चालनमा रहेको व्यवसाय हुनु अनिवार्य छैन। आवेदकले आफ्नो व्यावसायिक अवधारणा, स्थानीय रूपमा देखिएका समस्या वा बजार अवसर, रुचिको व्यावसायिक क्षेत्र, प्राविधिक/व्यावहारिक सीप वा प्रारम्भिक उद्यमका आधारमा आवेदन दिन सक्ने क्याम्पसले जनाएको छ । आवेदन पेस गर्ने अन्तिम मिति यही असोज मसान्तसम्म रहेको छ ।
