दक्षिण अफ्रिकी पत्रकार वेपत्ता
दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका उहाँको पारिवारिक श्रोतले जनाएको छ। उहाँको परिवारले एएफपीलाई यसबारे पुष्टि गर्दै उहाँको बेपत्ता भएको जानकारी विभिन्न अधिकारीहरूलाई दिइएको छ ।
बेलायती नागरिकता पनि प्राप्त गरिसकेका माइका रेड्डी बिहीबार तोकिएको जिम्मेवारीका लागि जिबुटी जानुभएको थियो । शनिबार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म उहाँ सहकर्मीहरूसँग घण्टैपिच्छे सम्पर्कमा रहनुभएको थियो तर पछि उहाँसँगको सञ्चार विच्छेद भएको उहाँकी पत्नी निकोल बेअड्र्सवथले बताउनुभएको छ।
“उहाँको फोन उहाँ जिबुटी पुगेको चार घण्टापछि बन्द भयो”, उहाँकी पत्नी बेअड्र्सवर्थले एएफपीसँग भन्नुभयो, “म धेरै चिन्तित छु।”
उहाँ आफ्ना स्थानीय सहयोगी फिक्सर कुकी महमुदसँगै बेपत्ता हुनुभएको बताइएको छ।
रेड्डी ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’का अफ्रिकी समन्वयक हुनुहुन्छ । बेपत्ता हुनुअघि उहाँ राजधानीको एउटा होटलमा बस्नुभएको थियो ।
“उहाँले चर्को गर्मीको मौसमबारे कुरा गर्दै आफ्नो अन्तिम सन्देश हिजो बिहान छोडुनुभएको थियो,” रेड्डीकी आमाले एएफपीसँग भन्नुभयो ।
“उहाँले कुनै डर व्यक्त गर्नुभएन । त्यसैले हामी आशा गर्दैछौं कि यो जिबुटी सरकारको कुनै निकायले सोधपुछका लागि रोकेको हो र पछि छोडिनेछ,” उहाँले भन्नुभयो ।
परिवारले बताएअनुसार इन्टरपोल, बेलायती उच्च आयोग र दक्षिण अफ्रिकाको परराष्ट्र विभागसहित विभिन्न अधिकारीहरूलाई यसबारे जानकारी जारी गरिएको छ ।
‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)’ ले जिबुटी अधिकारीहरूलाई ‘तत्काल उनीहरूको अवस्था स्पष्ट गर्न र सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ।
एएफपीले सम्पर्क गर्दा सरकारी अधिकारीले यस मुद्दाबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन् भने सत्तारूढ दलका एक वरिष्ठ सदस्यले यो ‘सत्य होइन’ भन्नुभयो ।
‘रिपोर्टरर्स विदाउट बोर्डर्स’को सन् २०२६ प्रेस स्वतन्त्रता सूचकाङ्कमा जिबुटी १८० देशमध्ये १६७ औँ स्थानमा छ ।
