Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | अशोक घिमिरे/रासस
newsabhiyan

धनगढी, १३ मङ्सिरः बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ ।
 
उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन् ।
 
धनगढीका स्थानीय सीता जोशी सामुदायिक पशुको व्यवस्थित व्यवस्थापनबाट सडक दुर्घटना र खेतीबालीमा क्षति हुने कार्यमा कमी आएको सुनाउनुहुन्छ । छाडा छोडिएका पशुसँग ठोक्किएर आँखै अगाडि दैनिकजसो सवारीसाधन दुर्घटनामा पर्ने गरेको र खेतीबाली जोगाउन परिवार नै गोठालो लाग्नुपरेको उहाँको अनुभव छ ।
 
धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा संरक्षण गर्ने उद्देश्यले वडा नं ७ को देवरिया, वडा नं १६ को रामपुर र वडा नं १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ ।
 
ती गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार तथा संरक्षण गरिएको र आगामी दिनमा गौशालाको सङ्ख्या बढाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।
 
फूलबारीस्थित हाम्रो गौशालामा अहिले ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ । उक्त गौशाला व्यवस्थापनमा संलग्न आठ कर्मचारीलाई धनगढी उपमहानगरले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।
 
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा धनगढीको सहरी र ग्रामीण क्षेत्रका बासिन्दाको एउटै माग थियो– छाडा पशुको उचित व्यवस्थापन । निर्वाचनका क्रममा मत माग्न पुगेका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई स्थानीयले सामुदायिक पशु व्यवस्थापनको खाका ल्याउनेलाई मात्र मत दिने बताएका थिए ।
 
नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमालले त्यतिबेलै नागरिकसँग प्रतिबद्धता गर्नुभएको थियो– ‘प्रमुखमा जितेछु भने नगरपालिकाको बजेटबाट, पराजित भएछु भने निजी खर्चबाट गौशाला निर्माण गरेर स्थानीयको समस्या समाधान गर्छु ।’
 
सो निर्वाचनबाट हमाल प्रमुखमा निर्वाचित हुनुभयो । सोही अनुसार २०८० मङ्सिरमा छाडा गाईवस्तु फूलबारीमा गौशालामा राख्न थालिएको व्यवस्थापक डेगमान पौडेलले जानकारी दिनुभयो ।
 
“निर्वाचनका क्रममा भोट माग्दै हिँड्दाखेरि यहाँका जनताले हामीलाई केही चाहिँदैन, खेती खान पाएनौँ यी गाईको व्यवस्थापन चाहिँ गर्दिनुहोस् भनेर उम्मेदवारलाई भनेका थिए”, विगत सम्झदै पौडेलले भन्नुभयो, “हमाल नगर प्रमुखमा विजयी भएपछि पहिलो पटक रु ५० लाख विनियोजन गरिदिनुभयो ।”
 
पहिलो वर्ष नै उक्त गौशालामा दुई वटा टहरा निर्माण भयो । नगरपालिकाले अर्को वर्ष थप रु एक करोड विनियोजन गर्र्यो । अहिलेसम्म आइपुग्दा फूलबारीस्थित गौशालामा मात्रै रु पाँच÷छ करोडको लगानी भइसकेको छ ।
 
“विसं २०८० मङ्सिर १४ गते स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा ५०५ गाई गौशालामा हुलेका हौँ”, व्यवस्थापक पौडेलले भन्नुभयो । साढे तीन विघा क्षेत्रफलमा फैलिएको सो गौशाला अहिले स्थानीय घरपाला पशुको हेरचाह गर्ने स्थल पनि बनेको छ ।  
 
गाईवस्तु धान्न नसक्ने भएपछि वरपरका गाउँले गौशालामा पशुचौपाया ल्याउने गरेका छन् । त्यसबापत गौशालामा प्रतिगाई रु दुई हजार शुल्क लिँदै आएको छ ।
 
गौशालाबाट मल र दूध बिक्री हुन थालेको छ । जैविक मल उत्पादन गरी बिक्रीवितरण गर्ने काम पनि सुरु भएको छ । त्यसबाट प्राप्त रकमबाट कर्मचारिकलाई थप पारिश्रमिक र दाना तथा पराल खरिद गर्न सहयोग भएको व्यवस्थापक पौडेलको भनाइ छ ।

“गौशालाबाट प्रतिघनमिटर रु एक हजारमा गोबर बिक्री हुन्छ, केही दूध पनि बिक्री गर्छौं,” उहाँले भन्नुभयो, “यसबाट भुसा, पराल र दाना किन्न सहयोग मिलेको छ ।”

गाईवस्तुको सङ्ख्या बढ्दै जाँदा गौशालालाई पराल र दाना पु¥याउन हम्मेहम्मे परेको व्यवस्थापक पौडेलको गुनासो छ । पराल र दाना अपुग भएपछि दिउँसोमा गाईलाई चराउन तीन किलोमिटर टाढा जङ्गल लैजानुपर्ने बाध्यता छ ।
 
“गाई चराउन पाँचजना सँगसँगै जान्छौँ । त्यति गर्दा पनि कोही जङ्गल त कोही बस्तीतर्फ भाग्छन् । अनि फेरि खोजेर ल्याउँछौँ,” पौडेलले भन्नुभयो । सामुदायिक पुश व्यवस्थापनको कामबाट प्रभावित भएर गौशालालाई स्वतःस्फूर्तरुपमा सहयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको नगरप्रमुख हमाल बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan