Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२५६ प्रहरी जवान दीक्षित, १३१ महिला र १२५ पुरुष तालिम पूरा गरी कार्यक्षेत्रमा खटिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटीमा प्रहरी जवान आधारभूत तालिम ११–८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका २५६ जना प्रशिक्षार्थी दीक्षित भएसँगै प्रहरी संगठनमा नयाँ जनशक्ति थपिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्ट राईको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा १३१ महिला र १२५ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन्।

समारोहलाई सम्बोधन गर्दै डीआईजी भट्ट राईले दीक्षित प्रहरी जवानहरूलाई कार्यक्षेत्रमा आवश्यक पर्ने समसामयिक विषयमा निर्देशन दिँदै नागरिकको सेवा, सुरक्षा र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै व्यावसायिक प्रहरीको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै सबै प्रशिक्षार्थीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकहरूलाई प्रमुख अतिथि भट्ट राईले पुरस्कार वितरण गरेका थिए। तालिमका क्रममा देखाएको अनुशासन, लगनशीलता, व्यावसायिक दक्षता र उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान गरिएको हो।

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण धितालले दीक्षित प्रशिक्षार्थीहरूलाई शपथग्रहण गराएका थिए। शपथग्रहणसँगै उनीहरूले प्रहरी सेवाको जिम्मेवारी, पदीय मर्यादा र संगठनप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै कार्यक्षेत्रमा खटिने औपचारिक यात्रा सुरु गरेका छन्।

सो अवसरमा तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरजबहादुर खड्काले प्रशिक्षार्थीहरूले सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेको जानकारी गराएका थिए। उनले तालिमको उद्देश्य, सिकाइ प्रक्रिया तथा प्रशिक्षार्थीहरूको उपलब्धिबारे विवरण प्रस्तुत गरेका थिए।

समारोहमा प्रदेश तथा जिल्लास्थित प्रहरी कार्यालयका प्रमुखहरू, नेपाली सेनाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दीक्षित प्रहरी जवानका अभिभावकहरूको उपस्थिति रहेको थियो। समादेशक धितालले समारोहमा सहभागी अतिथि तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका थिए।

आधारभूत तालिम पूरा गरेका २५६ प्रहरी जवान अब प्रहरी संगठनको जिम्मेवारीपूर्ण कार्यक्षेत्रमा प्रवेश गर्नेछन्। उनीहरूबाट शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुर्‍याउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र प्रहरीप्रति जनविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नयाँ प्रहरी जनशक्तिको दीक्षान्तसँगै सुदूरपश्चिम प्रदेश प्रहरी संगठनको सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा थप जनशक्ति उपलब्ध भएको छ। तालिममा सिकेको अनुशासन, इमानदारी, निष्पक्षता र सेवाभावलाई व्यवहारमा उतार्न सके मात्रै उनीहरूको दीक्षान्तले सार्थकता पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan