अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
काठमाडौं, ११ मंसिर : काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन ४७ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगरपालिका-११ घर भएका ३४ वर्षीय कमल विश्वकर्मा र मेचीनगर नगरपालिका-४ घर भएका ३६ वर्षीय हेम कुमार कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजिप राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ देवा फुलबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ कसाई मोहल्ला बस्ने २२ वर्षीय मुन्सिद शाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
