Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइएसमा आबद्ध आठ फ्रान्सेलीलाई आजीवन कारावास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस-एएफपी)

बगदाद, १० मङ्सिर : इस्लामिक स्टेट (आइएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ । अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगित गरिएको छ ।

सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन् । यसअघि अदालतले अन्य १५ जनालाई आजीवन र एक जनालाई १५ वर्ष कैद सजाय सुनाइसकेको छ ।

फैसला स्थगित गरिएका व्यक्तिमध्ये सन् २०१६ को निस आक्रमणमा संलग्न आक्रमणकारीलाई आइएसको समर्थन रहेको दाबी गर्ने एड्रियन गुइहाल पनि छन् ।

उक्त आक्रमणमा बास्टिल दिवस मनाइरहेका सर्वसाधारणको भीडमा ट्रक चलाउँदा ८६ जनाको मृत्यु भएको थियो । त्यस्तै, सिरिया गएका थोमस कोलान्ज र आइएसको प्रचार भिडियोमा देखिएका क्वेन्टिन ले ब्रुनको फैसला पनि स्थगित भएको छ । आइएसको रेडियो सञ्चालनमा काम गरेका रोमेन गार्नियरलाई भने आजीवन कारावास सुनाइएको छ ।

सुनुवाइका क्रममा अधिकांश प्रतिवादीले आइएसमा आबद्ध भएको स्वीकार गर्दै पछुतो व्यक्त गरेका थिए । केहीले फ्रान्स फर्कन पाउनुपर्ने मागसमेत गरेका थिए । गुइहालले आफू परिवर्तन भएको र समूहका गतिविधि त्यागेको दाबी गर्नुभएको थियो । कोलान्जले श्रीमती र छोराछोरीलाई समेत सिरिया लगेकोमा पछुतो व्यक्त गर्नुभएको थियो ।

फ्रान्सले जिहादीका परिवारका सयौँ सदस्यलाई स्वदेश फर्काए पनि आइएसमा संलग्न भएको आरोप लागेका अधिकांश पुरुषलाई फिर्ता लैजान अस्वीकार गर्दै आएको छ ।

प्रतिवादीहरूले आफूहरू सिरिया गएको भए पनि इराकमा मुद्दा चलाइनुको कारणबारे प्रश्न उठाएका थिए । तर, इराकले इराक वा सिरियामा समूहका लागि काम गरेको भए पनि आफ्नो आतङ्कवादविरोधी कानूनअन्तर्गत कारबाही गरिरहेको छ ।

आइएसले सन् २०१४ मा इराक र सिरियामा नरसंहार गर्नुका साथै महिला तथा बालिकालाई यौन दासत्वमा बाध्य पारेको थियो । युरोपलगायत विभिन्न क्षेत्रबाट हजारौँ व्यक्ति उक्त समूहमा आबद्ध हुन पुगेका थिए ।

अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको सहयोगमा इराकले सन् २०१७ मा आइएसलाई पराजित गरेको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि अमेरिकी समर्थन प्राप्त कुर्दिश नेतृत्वको सेनाले सिरियामा पनि उक्त समूहलाई परास्त गरेको थियो । यद्यपि, सामूहिक चिहान र आइएसका अत्याचारसम्बन्धी प्रमाणको अनुसन्धान अझै जारी छ ।

इराकले गत फेब्रुअरीमा सिरियाका कुर्दिश जेलबाट ६० भन्दा बढी देशका पाँच हजार ७०० भन्दा बढी आइएस कैदीलाई आफ्नो नियन्त्रणमा ल्याएको थियो । ती कैदीमाथिको सुनुवाइ आइतबार सिरियाली नागरिकसम्बन्धी पहिलो मुद्दाबाट सुरु भएको हो ।

इराकी अदालतहरूले विदेशी लडाकूसहित आतङ्कवादसम्बन्धी अपराधमा दोषी ठहरिएकाहरूलाई विगतमा सयौँ आजीवन कारावास र मृत्युदण्डको सजाय सुनाएका छन् । तर, केही मानवअधिकारवादी संस्थाले मुद्दाको सुनुवाइ हतारमा गरिएको र निष्पक्ष न्यायिक प्रक्रियाको अभाव रहेको भन्दै आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan