Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

धनकुटा, ९ मङ्सिरः कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो । 

त्यसक्षेत्रका किसानले चियाबाटै आफ्नो भविष्य बदल्ने सपना देखेका थिए । अन्य बाली छाडेर चियाखेतीमा लागेका किसानले यसैबाट राम्रो आम्दानी हुने आशा गरेका थिए । तर, अहिले ती चियाका बोट किसानको बेवास्तामा परेको पाइएको छ । बजारमा बिक्री नभएपछि किसानले बगानबाट चिया टिप्नै छाडेका छन् ।

वर्षौंदेखि गोडमेल र छाँटकाँटविहीन बनेका चिया बगान अहिले झाँडीमा परिणत भएका छन् । विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गर्नुभएका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा चियाखेती लगाउनुभएको थियो । तर, समय बित्दै जाँदा उहाँले सोचेअनुसार चियाको मूल्य र बजार पाउन सक्नुभएन ।

उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकिएको उहाँको गुनासो छ । “चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ”, उहाँले भन्नुभयो, “मजदुर लगाएर काम गराउँदा झन खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?”

स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा किसान थप निरास बनेको थापाले बताउनुभयो । वर्षौंको मिहिनेत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको थापाको भनाइ छ ।  

यस्तो समस्या भोग्ने कृषक थापामात्रै होइन, पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतको समस्या पनि उस्तै छ । करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गर्नुभएका बस्नेतले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्नसमेत सक्नुभएको छैन । तीन–चार वर्षदेखि छाँटकाँट र गोडमेल नहुँदा चियाका बोट बढेर जङ्गलजस्तै बनेका छन् । 

उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । अहिले पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेतको भनाइ छ ।

पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गर्नुभएको छ । तर, उद्योगले आफूले अपेक्षा गरेअनुसारको मूल्य नदिँदा उहाँ पनि समस्यामा पर्नुभएको छ ।

चिया बिक्री नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको राईले बताउनुभयो । उत्पादन भएको चियाको उचित बजार र मूल्य पाउनु मुख्य चुनौती बनेको राईले बताउनुभयो । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । वर्षौँसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानी पनि खेर गइरहेको छ ।
 
उद्योग बन्द हुँदा रोजगारी र आम्दानीमा असर

स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । उक्त उद्योगमा स्थानीय किसानले चिया बिक्री गर्दै आएका थिए ।

उद्योगमा किसानले उत्पादन गरेको चियाबाट ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायतका विशेष प्रकारका चिया उत्पादन गरिँदै आएको थियो । स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पुर्याउने कामले किसानमा चियाखेतीप्रति उत्साह पनि बढाएको थियो ।

उद्योग सञ्चालनमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपर्यो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ ।

उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ नै नपाएपछि किसानले चिया बिक्री गर्न पाएका छैनन् । त्यसयता चिया बगानको नियमित हेरचाहदेखि उत्पादन बिक्रीसम्मका समस्या बढ्दै गएको किसानको भनाइ छ ।

अन्य बाली छाडेर चियाखेतीमा भविष्य खोजेका किसान अहिले बोट हेर्दै निरास हुनुपर्ने अवस्थामा पुगेका छन् । चिया उद्योग सञ्चालनका लागि पाख्रिबास नगरपालिकाले पहल नगरेको किसानको गुनासो छ ।

नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण केही गर्न नसकेको पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गरुङले बताउनुभयो । उहाँले किसानले ठूलो बजेट माग गर्ने तर, नगरपालिकासँग सानो सहयोग गर्ने अवस्था पनि नरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan