Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस)

काठमाडौँ, ८ मङ्सिर ः जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो ।

    अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्चालन गरिएका रेस्टुरेण्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक गरी २२ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिनुभयो ।

    गत शुक्रबार गरिएको अनुगमनका क्रममा पहिचान गरिएका रेस्टुरेण्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । प्रशासनले उनीहरूलाई आगामी एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

    विना दर्ता सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले जानकारी दिनुभयो ।

    ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्मा नेतृत्वले तयार गरी जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत भएको ठमेललाई २४ सै घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० लाई कार्यान्वयन गर्दै लैजाने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुगमनलाई तीव्रता दिएको हो ।

    अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा सामान जफत गरी एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ ।

    सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिमध्ये केहीलाई सम्झाइबुझाइ गरी छाडिएको र केहीलाई भने प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो ।

    ठमेलभित्र रातको समयमा ठूला आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । अनुगमनका क्रममा सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेलाई हटाइएको नगर प्रहरीले जनाएको छ ।

    डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा सङ्लग्न व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताउनुभयो ।

    अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकम फिर्ता गराइएको छ । व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्तिमाथि प्रशासनले निगरानी बढाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan