सुडानमा ड्रोन आक्रमणले मानवीय सहायता सञ्चालन प्रभावित ः राष्ट्रसङ्घ
सुडानका विभिन्न क्षेत्रमा जारी द्वन्द्व, ड्रोन आक्रमण तथा असुरक्षाका कारण सर्वसाधारण नागरिकको जनधनमा क्षति पुग्नुका साथै मानवीय सहायता सञ्चालनसमेत प्रभावित हुन थालेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार राजधानी खार्तुमको ओम्दुरमान र जेबेल अवलिया क्षेत्रमा आइतबार भएका ड्रोन आक्रमणमा चार सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन्। आक्रमणका क्रममा राष्ट्रसंघको एउटा भवनमा समेत क्षति पुगेको भए पनि भवनभित्र रहेका कर्मचारी भने सुरक्षित रहेको कार्यालयले जनाएको छ ।
सुडानका लागि राष्ट्रसंघीय मानवीय संयोजक डेनिस ब्राउनले मानवीय सहायता कर्मचारी तथा उनीहरूका सामग्री र संरचनाको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । उहाँले निरन्तर भइरहेका ड्रोन आक्रमणले सर्वसाधारणमा गम्भीर मानवीय असर पारिरहेको बताउनुभएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार कोर्डोफान क्षेत्रमा बढ्दो असुरक्षाका कारण सर्वसाधारण आफ्नो घर छाडेर विस्थापित हुन बाध्य भएका छन्। पश्चिम कोर्डोफानको अबु जाबाद क्षेत्रस्थित अबु गालिब गाउँबाट मात्रै सप्ताहन्तमा ६ हजार ४०० भन्दा बढी मानिस विस्थापित भएको बताइएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले सुडानमा खाद्य असुरक्षा थप गहिरिँदै गएको जनाएको छ । खाद्यान्नको मूल्यवृद्धि र अपर्याप्त वर्षाका कारण सर्वसाधारणको खाद्य पहुँच प्रभावित भएको कार्यक्रमले उल्लेख गरेको छ । अक्टोबरमा डब्लूएफपीको स्थानीय खाद्य सामग्रीको टोकरीको लागत सेप्टेम्बरको तुलनामा २४ प्रतिशतले बढेको थियो ।
राष्ट्रसंघले बढ्दो मानवीय आवश्यकतालाई सम्बोधन गर्न तथा जीवनरक्षक सहायता उपलब्ध गराउन दातृ निकायहरूलाई आर्थिक सहयोग वृद्धि गर्न आग्रह गरेको छ। सुडानका लागि राष्ट्रसंघले अघि सारेको मानवीय सहायता अपिलमा हालसम्म आवश्यक रकमको ५१ प्रतिशत मात्रै प्राप्त भएको ओसीएचएले जनाएको छ ।
