Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजा पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छः गुटेरेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस)

न्युयोर्क, ८ मङ्सिर : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको पुनर्निर्माण प्यालेस्टिनीहरूको नेतृत्वमा हुनुपर्ने बताउँदै त्यसलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराख्न आग्रह गर्नुभएको छ ।

उहाँले पुनर्निर्माण प्रक्रियामा प्यालेस्टिनी महिला र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई आफ्नो भविष्य निर्धारण गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्यालेस्टिनी जनतासँगको अन्तर्राष्ट्रिय एकता दिवसका अवसरमा प्यालेस्टिनी जनताको अपरिहार्य अधिकार अभ्यास समितिको विशेष बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको हो । महासचिव गुटेरेसको मन्तव्य उहाँका सहायक महासचिव अमिना मोहम्मदले बैठकमा पढेर सुनाउनुभएको थियो ।
गुटेरेसले गाजाको पुनःस्थापना घर र पूर्वाधार पुनर्निर्माणमा मात्र केन्द्रित हुन नहुने उल्लेख गर्दै सामाजिक संरचनाको पुनःनिर्माण र समुदायलाई द्वन्द्वबाट उब्जिएको पीडाबाट मुक्त गराउने प्रयास पनि सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकको संयुक्त मूल्याङ्कनले गाजामा भएको द्वन्द्वका कारण ७७ वर्षको मानव विकास उपलब्धि पछाडि धकेलिएको देखाएको उहाँले उल्लेख गर्नुभयो । यस अवस्थाबाट उकास्न स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा र जीविकोपार्जनका अवसरमा नागरिकको पहुँच तत्काल पुनःस्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले पुनर्निर्माणलाई राजनीतिक समाधानको विकल्पका रूपमा लिन नहुने स्पष्ट पार्नुभयो । कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र राजनीतिक, आर्थिक र भौगोलिक रूपमा एकीकृत रहनुपर्ने तथा एकल, वैध, सार्वभौम र लोकतान्त्रिक प्यालेस्टिनी सरकारअन्तर्गत एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

“इजरायलको गैरकानूनी कब्जा यथाशीघ्र अन्त्य गर्नु र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नु हाम्रो सामूहिक प्रयासको केन्द्रमा हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सन् २०२५ मा धेरै देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको र संयुक्त राष्ट्रसङ्घको महासभाले न्युयोर्क घोषणापत्र पारित गरेको स्मरण गर्दै उहाँले त्यसबाट सिर्जित राजनीतिक गतिलाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

त्यसका लागि कानूनी वैधता नभएको विलय रोक्ने, बस्ती विस्तार अन्त्य गर्ने, प्यालेस्टिनी संस्थाहरूलाई सुदृढ बनाउने र विश्वसनीय राजनीतिक प्रक्रिया अघि बढाउने कदम आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्यालेस्टिनी जनताको आत्मनिर्णयको वैधानिक अधिकार सुनिश्चित नगरी मध्यपूर्वमा स्थायी शान्ति स्थापना हुन नसक्ने महासचिव गुटेरेसले बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसङ्घका प्रस्ताव र यसअघि भएका सम्झौताका आधारमा इजरायल र प्यालेस्टाइन दुई स्वतन्त्र, सार्वभौम तथा लोकतान्त्रिक राष्ट्रका रूपमा शान्ति र सुरक्षासाथ रहनु नै व्यावहारिक समाधान भएको उल्लेख गर्नुभयो ।

सन् १९६७ को सीमारेखाका आधारमा दुवै राष्ट्रको सुरक्षित र मान्य सीमाभित्र सहअस्तित्व कायम हुनुपर्ने तथा गाजा र पश्चिम किनार प्यालेस्टाइन राज्यका अभिन्न अङ्गका रूपमा रहनुपर्ने उहाँको भनाइ थियो । साथै, जेरुसेलम दुवै राज्यको राजधानी हुने व्यवस्था नै दिगो शान्तिको आधार बन्न सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan