क्यानडा पठाइदिने भन्दै ठगी आरोपमा पक्राउ परेका कुँवर र गौतम रिहा
काठमाडौं, ८ मंसिर । क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका विमोचन राज कुँवर र रिता गौतम रिहा भएका छन्। पिङ्की परियारको जाहेरीका आधारमा वैदेशिक रोजगारसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरू वादी र प्रतिवादीबीच मिलापत्र भएपछि रिहा भएको दाबी गरिएको छ।
कुँवर र गौतमले न्युज अभियान अनलाइनमा २०२६ सेप्टेम्बर १८ मा प्रकाशित ‘क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ’ शीर्षकको समाचारप्रति खण्डन तथा प्रतिक्रिया पठाउँदै आफूहरू समाचार प्रकाशित भएको भोलिपल्टै रिहा भएको बताएका छन्।
उनीहरूका अनुसार वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा नम्बर ४९४२, दर्ता मिति २०८३ जेठ २८ मा जाहेरवाला र प्रतिवादीबीच मिलापत्र भएपछि दुवै जना थुनामुक्त भएका हुन्। वैदेशिक रोजगार विभागले २०८३ असोज २ गते थुनामुक्त गर्न पत्र लेखेको उनीहरूले आफ्नो खण्डनमा उल्लेख गरेका छन्।
उनीहरूले पक्राउ परेको समाचार र व्यक्तिगत विवरणसमेत प्रकाशित भए पनि रिहा भएको तथ्य भने सार्वजनिक नगरिएको भन्दै समाचार एकपक्षीय र अधुरो भएको जिकिर गरेका छन्।
समाचारमा आफ्नो नाम खोज्दा ठगीसँग सम्बन्धित सामग्री देखिने गरेको र त्यसले व्यक्तिगत प्रतिष्ठा, विदेश अध्ययन तथा वैदेशिक रोजगारका लागि आवश्यक पर्ने शैक्षिक एवं व्यावसायिक अवसरमा नकारात्मक असर पारेको उनीहरूको भनाइ छ।
कुँवर र गौतमले आफूहरू रिहा भएको तथ्य समावेश गरी पुरानो समाचार अद्यावधिक तथा सच्याउन र आफूहरूले पठाएको खण्डनलाई प्रकाशन गर्न आग्रह गरे बमोजिम प्रकाशित गरिएको हो ।
यस विषयमा प्रेस काउन्सिल नेपाललाई समेत निवेदनमा बोधार्थ गरिएको छ ।
यो पनि पढ्नुहोस् :
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
