मार्कोसको शान्तिपूर्ण विवाद समाधानमा जोड
मनिला, ३० कात्तिक : दक्षिण चीन सागरमा तनाव जारी रहेका बेला फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरले आसियान र चीनलाई क्षेत्रीय विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गर्नुभएको छ ।
मनिलामा आयोजित २९औँ आसियान–चीन शिखर सम्मेलनमा उहाँले आत्मसंयम, पारस्परिक सम्मान र व्यावहारिक सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
दक्षिणपूर्वी एसियाली मित्रता तथा सहयोग सन्धिको ५०औँ वार्षिकोत्सवलाई अन्तर्राष्ट्रिय कानूनको पालना र शान्तिपूर्ण समाधानप्रतिको प्रतिबद्धता दोहो¥याउने अवसरका रूपमा उहाँले उल्लेख गर्नुभयो ।
मार्कोसले दक्षिण चीन सागरमा आचारसंहिता बनाउने वार्ता छिटो टुङ्ग्याउनुपर्ने र सम्झौता अन्तर्राष्ट्रिय कानूनअनुरूप हुनुपर्नेमा जोड दिनुभयो । फिलिपिन्सको विदेश मामिला विभागका अनुसार वार्ताको करिब ८० प्रतिशत काम पूरा भएको छ ।
यसैबीच, चिनियाँ प्रधानमन्त्री ली छ्याङले आसियान र चीनबीचको व्यापार एक खर्ब अमेरिकी डलर तथा पारस्परिक लगानी पाँच खर्ब अमेरिकी डलर नाघेको बताउनुभयो । उहाँले डिजिटल तथा हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता र क्षेत्रीय सम्पर्क विस्तारमा सहकार्य बढिरहेको उल्लेख गर्नुभयो ।
चीनसँग व्यापारिक सम्बन्ध कायम राख्दै आएको फिलिपिन्सले दक्षिण चीन सागरका समुद्री चुनौती सामना गर्न अन्तर्राष्ट्रिय साझेदारसँग रक्षा सहकार्य पनि विस्तार गरिरहेको छ ।


