Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआई नीतिबारे छलफल गर्दै इयु नेता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस-एएफपी)

डब्लिन, २७ कात्तिक : कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् ।

चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ ।

छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख आर्थर मेन्श र नोबेल पुरस्कार विजेता अनुसन्धानकर्ता जेफ्री हिन्टन सहभागी हुनुहुनेछ ।

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग जोडिएको विवादका कारण एआई क्षेत्रको सुरक्षा विषयले पनि बैठकमा स्थान पाउन सक्ने इयुका एक अधिकारीले बताएका छन् । एनभिडिया औपचारिक कार्यसूचीमा नरहे पनि नेताहरूले त्यसबारे छलफल गर्न चाहेमा रोक नलगाइने उहाँको भनाइ छ ।

बैठकअघि एस्टोनिया र फिनल्यान्डले गम्भीर एआई घटनाको सामना गर्न इयुस्तरको व्यवस्था आवश्यक रहेको बताएका छन् । एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिचालले विगतमा जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजका लागि बाह्य मुलुकमाथि निर्भर हुनुपरेको अवस्थाबाट पाठ सिक्दै नयाँ प्रविधिमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

मिस्ट्रलका प्रमुख मेन्शले युरोपमै उन्नत एआई विकास गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ । गुगलका पूर्वअनुसन्धानकर्ता हिन्टनले भने एआईबाट रोजगारी, नागरिक अधिकार र सुरक्षामा पर्न सक्ने प्रभावबारे छलफल गर्नुहुनेछ ।

उहाँ र कम्प्युटर वैज्ञानिक योशुआ बेङ्गियोले च्याटजिपिटी सार्वजनिक भएपछि एआईका सम्भावित जोखिमबारे चेतावनी दिनुभएको थियो ।

सेन्टर फर युरोपियन रिफर्मका अनुसन्धानकर्ता जेम्स ग्रीनले युरोपलाई एआईसम्बन्धी स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले व्यावसायिक वातावरण सुधार, उन्नत प्रविधिमा पहुँच, जिम्मेवार प्रयोग तथा सम्भावित हानि कम गर्न नियमन र अन्तर्राष्ट्रिय साझेदारीमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan