अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, २७ कात्तिक : पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बारा कोल्हवी नगरपालिका-८ नयाँ बस्ती टोल बस्ने २० वर्षीय समिर बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मितेरी पुलदेखि वीरगंजतर्फ जाँदै गरेको ना.२ ह ३९८९ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ३१ हजार ४ सय ६० रूपैयाँ सहित शहिदनगर नगरपालिका-३ यदुकुहा बस्ने २१ वर्षीय उपेन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, देवानगंज गाउँपालिका-५ पाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ६० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका-५ बस्ने २७ वर्षीय डोमा पासवान, २३ वर्षीय पवन कुमार यादव र भारत अररिया पोचदह-५ बस्ने २३ वर्षीय सोनु यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले नेपालदेखि भारततर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ९६६९ नम्बरको सिटि सफारी जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी सिटि सफारी चालक डोमा तथा सिटि सफारीसँगै आउँदै गरेको को.१५ प ९६५६ नम्बरको मोटरसाइकल चालक पवन कुमार र बिआर ३८ ए एन ५२६१ नम्बरको मोटरसाइकल चालक सोनु यादवलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-३ त्रिवेणी चोक बस्ने ३५ वर्षीय रबिन भुजेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, विर्तामोड नगरपालिका-९ घौलापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २० वर्षीय राहुल शेख समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


