सीमा सुरक्षा र आन्तरिक सुरक्षामा आईजीपी पौडेलको कडा निर्देशन, उच्च सतर्कतामा रहन सबै युनिटलाई आदेश
भीड नियन्त्रणमा बल प्रयोग गर्दा संयमता अपनाउन निर्देशन, भ्रष्टाचार र अनुशासनहीनताविरुद्ध शून्य सहनशीलता
काठमाडौं । सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा र सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनका सबै तहका युनिटलाई उच्च अपरेसनल रेडीनेसमा रहन निर्देशन दिएका छन् । बदलिँदो सुरक्षा परिस्थिति, सम्भावित आन्दोलन, विरोध प्रदर्शन तथा आन्तरिक सुरक्षामा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै उनले मातहतका कमान्डरहरूलाई पूर्वतयारी, सतर्कता र प्रभावकारी परिचालनमा कुनै कमजोरी नगर्न स्पष्ट सन्देश दिएका हुन् ।
कार्तिक १९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागद्वारा आयोजित भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै महानिरीक्षक पौडेलले बाहिनी, गण, गुल्म तथा बेस तहसम्मका कमान्डरहरूलाई राष्ट्रिय सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह र संस्थागत जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
उनले जुनसुकै समयमा हुनसक्ने आन्दोलन, विरोध कार्यक्रम र अप्रत्याशित सुरक्षा परिस्थितिको सामना गर्न आवश्यक जनशक्ति, साधनस्रोत र कार्ययोजनासहित तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । विशेषगरी भीड नियन्त्रणका क्रममा उत्तेजित भएर बल प्रयोग नगर्न निर्देशन दिँदै उनले कानुनसम्मत, आवश्यक, समानुपातिक र जवाफदेही सिद्धान्तका आधारमा मात्र क्रमिक रूपमा बल प्रयोग गर्नुपर्ने स्पष्ट पारे । सुरक्षा कायम गर्ने नाममा अनावश्यक बल प्रयोग गर्ने छुट कसैलाई नभएको उनको निर्देशनको आशय थियो ।
सीमा सुरक्षालाई संगठनको प्रमुख जिम्मेवारीका रूपमा व्याख्या गर्दै महानिरीक्षक पौडेलले सीमापार अपराध, अवैध गतिविधि तथा अन्य सुरक्षा चुनौती नियन्त्रणका लागि तत्काल प्रतिक्रिया दिन सक्ने संयन्त्र विकास गर्नुपर्ने बताए । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी निर्वाह गरिरहेको सशस्त्र प्रहरीले समकक्षी सुरक्षा निकायसँगको समन्वय, प्रणालीगत सूचना संकलन र सूचनाको प्रभावकारी विश्लेषणलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
सीमा सुरक्षा र विपद् व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरिसकेको संगठनले अब अनुभवलाई परिणाममा बदल्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि जनशक्तिको व्यावसायिक क्षमता, परिचालन दक्षता र संस्थागत तयारीलाई समयानुकूल अभिवृद्धि गर्दै लैजानुपर्ने उनले बताए ।
कमान्डरहरूलाई उनले अधिकार प्रयोग गर्ने पदाधिकारीका रूपमा मात्र नभई पूर्ण उत्तरदायित्व वहन गर्ने नैतिक नेतृत्वकर्ताका रूपमा प्रस्तुत हुन निर्देशन दिए । मातहतका कर्मचारीको कार्यसम्पादनदेखि आफूले गरेका निर्णयसम्मको जिम्मेवारी कमान्डरले नै लिनुपर्ने उनको स्पष्ट धारणा थियो । दबाब, संकट र चुनौतीपूर्ण परिस्थितिमा समेत विवेकपूर्ण निर्णय लिन सक्ने नेतृत्व नै संगठनको वास्तविक शक्ति हुने उनले उल्लेख गरे ।
संगठनभित्र देखिने भ्रष्टाचार, अनियमितता, दुराचार र अनुशासनहीनताप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिएको बताउँदै पौडेलले व्यक्तिगत आचरणलाई संगठनको प्रतिष्ठासँग जोडेर हेर्नुपर्ने धारणा राखे । राष्ट्रसेवकको व्यवहार र कार्यशैलीबाटै नागरिकले संगठनको मूल्यांकन गर्ने भएकाले औपचारिकतामा सीमित नभई नतिजा देखिने गरी काम गर्न उनले निर्देशन दिए । नागरिकको विश्वास र सम्मान आर्जन गर्नु नै संगठनको प्रमुख उपलब्धि हुनुपर्ने उनको जोड थियो ।
मनसुनजन्य विपद्को प्रतिकार्य, वर्तमान सुरक्षा अवस्था तथा आगामी दिनमा देखा पर्न सक्ने चुनौतीहरूको सूक्ष्म विश्लेषणका लागि आयोजित सम्मेलनले संगठनको भावी परिचालन, सुरक्षा रणनीति र योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा सुशासन, पारदर्शिता, जवाफदेहिता र कानुनसम्मत सेवा प्रवाहलाई सबै तहका कमान्डरले प्राथमिक दायित्वका रूपमा लिनुपर्ने विषयमा समेत जोड दिइएको थियो ।
सोही अवसरमा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य सञ्चालन केन्द्रको उद्घाटनसमेत गरेका थिए । सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेललगायत प्रधान कार्यालयका उच्च अधिकारी तथा भर्चुअल माध्यमबाट सातै प्रदेशका बाहिनीपतिहरू, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।


