निरन्तर उत्कृष्टताको अर्को उपलब्धि नेपाल लाइफको रेटिङ डबल ए (AA) मा स्तरोन्नति
काठमाडौं, १८ कात्तिक । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating (ICRANP-IR] AA) बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो।
इक्रा नेपालका अनुसार [ICRANP-IR] AA रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून क्रेडिट जोखिम भएका संस्थाका रूपमा हेरिन्छन्।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस (AA−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको थियो।
उक्त रेटिङ थप एक तह माथि उक्लिँदै डबल ए (AA) मा स्तरोन्नति हुनु कम्पनीको निरन्तर वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धि हो।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट सुधार भई करिब १५४ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो।
कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानी एकाग्रता घटाई लगानी पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको छ।
आ.व. २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ।
कम्पनीले सो अवधिमा करिब रु. ५४ अर्ब बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा कोष करिब रु. २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब रु. २८५ अर्ब पुगेको छ।

