Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

मुस्ताङ, १७ कात्तिक : गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ ।

त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन् । हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन । 

मुस्ताङको वारागुङ–३ एक्लेभट्टीदे छुकसुम्बसम्म सडकको अवस्था सामान्य रहे पनि छुकसम्बदेखि भेरोलसम्म जोखिमपूर्ण छ । त्यस खण्डमा कतिपय स्थानमा ट्याक खोल्न बाँकी नै छ भने कतिपय साँघुरो घुम्तीका कारण ट्याक्टरसमेत सञ्चालन गर्न सकिएको छैन ।

यद्यपि उपल्लो डोल्पाका लागि उक्त सडक निकै महत्त्वपूर्ण पहँुच मार्गका रुपमा लिने गरिएको छ । त्यहाँका नागरिकलाई खाद्यान्न ढुवानीदेखि पोखरा–काठमाडाँै आवतजावत गर्न उक्त सडक सबैभन्दा छिटो र सहजको रुपमा हुने अपेक्षा गरिएको छ । त्यस सडक निर्माण सम्पन्न भएपछि माथिल्लो डोल्पामा भ्रमण गर्ने पर्यटकका लागिसमेत सहज हुनेछ ।

उक्त सडकको छुकसम्मदेखि भेरोलसम्मको करिब चार किलोमिटर निर्माण तथा स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारबाट चालु वर्ष एक करोड बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन चोख्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्रमा सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पाँच करोड स्रोत सुनिश्चित गरी बहुवर्षीय योजनाको रुपमा लैजाने कार्यालयद्वारा आवश्यक तैयारीसमेत पूरा गरिसकेको छ । बहुवर्षीय स्रोत सुनिश्चित भए लगत्तै छुकसम्म–भेरोल सडकको ठेक्का खुलाइने प्रमुख चोख्यालको भनाइ छ ।

मुस्ताङ–डोल्पा सडकका लागि प्रदेश सरकारद्वारा बजेट विनियोजन भएसँगै पूर्वाधार विकास कार्यालयको प्राविधिक टोलीले त्यस  सडकको यथाशीघ्र प्रारम्भिक अध्ययन सुरु गर्ने जनाइएको छ ।

उक्त सडकको बारागुङ–३ पाक्लिङदेखि–५ छुकसम्बसम्मको ५२ किलोमिटर सडको स्तरोन्नतिका लागि चालु आवमा रु १० करोड रकम विनियोजन भएको डिभिजन सडक बाग्लुङका इञ्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो ।

गतवर्ष छुकुसम्मदेखि केहीमाथिसम्म कार्यालयबाट सडक निर्माण सुरु गरेकामा चालु वर्ष पाक्लिङदेखि छुकसम्म स्तरोन्नति गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको इञ्जिनियर भण्डारीले जानकारी दिनुभयो ।

त्यसका लागि मध्यकालीन खर्च संरचनाको स्रोत सहमति स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । मुस्ताङको पाक्लिङदेखि डोल्पाको याकखर्कसम्मको करिब ६० किलोमिटर दुरी छ । त्यसमध्ये पाक्लिङदेखि छुकसम्बसम्मको ५२ किलोमिटर दुरीमा कच्चीसडक विस्तार भएकाले स्तरोन्नति गर्दै लैजाने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan