Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस/सिन्ह्वा)

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ ।

    देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो ।

    राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण गरिएको छ । तीमध्ये लचिलो मौद्रिक नीति कायम राख्ने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय प्रमुख छन् ।

    प्रतिवेदनअनुसार पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्नेछ । साथै, मौद्रिक नीतिको ढाँचाको निरन्तर मूल्याङ्कन गरी आवश्यक सुधार गर्नेछ ।

    वित्तीय नियमनलाई थप प्रभावकारी बनाउन गैरकानुनी वित्तीय गतिविधिविरुद्ध कडा कदम चाल्ने, वित्तीय व्यवस्थापन तथा सेवामा एआईको प्रयोगबारे अध्ययन गर्ने र वित्तीय उपभोक्ताको संरक्षणलाई सुदृढ बनाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।

    त्यसैगरी, पूर्वाधार विकास, प्राविधिक नवप्रवर्तन र साना व्यवसायलाई वित्तीय सहयोग विस्तार गर्ने लक्ष्य राखिएको छ ।

    प्रतिवेदनले चिनियाँ मुद्रा युआनको अन्तरराष्ट्रिय प्रयोग विस्तार गर्न, थप विदेशी वित्तीय संस्था तथा दीर्घकालीन पुँजी आकर्षित गर्न र स्वतन्त्र रूपमा नियन्त्रित सीमापार युआन भुक्तानी प्रणालीको विकास गर्न पनि जोड दिएको छ ।

    वित्तीय जोखिम न्यूनीकरणका लागि पुँजी बजारलाई सहयोग पु¥याउन मौद्रिक नीतिका उपकरण प्रयोग गर्ने तथा घरजग्गा क्षेत्रका लागि लागू गरिएको ‘ह्वाइट लिस्ट’ संयन्त्रलाई निरन्तरता दिने उल्लेख छ ।

    चीनले पछिल्लो समय वास्तविक अर्थतन्त्रमा वित्तीय लगानी बढाएको छ । सन् २०२५ अक्टोबरदेखि सन् २०२६ सेप्टेम्बरसम्म वास्तविक अर्थतन्त्रमा प्रवाह भएको नयाँ वित्तीय लगानी ३३ ट्रिलियन युआन (करिब चार दशमलव नौ ट्रिलियन अमेरिकी डलर) पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    यसै अवधिमा साङ्घाई र सेन्जेन स्टक एक्सचेन्जमा ८८ कम्पनी सूचीकृत भएका छन् । तीमध्ये करिब ९० प्रतिशत उच्च प्रविधि क्षेत्रका कम्पनी रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan