इयु प्रतिबन्धको जवाफमा रुसी आयातमा कडाइ हुन सक्ने
मस्को, १७ कात्तिक : युरोपेली सङ्घ (इयु) ले लगाएका प्रतिबन्धको प्रतिक्रियास्वरूप रुसले केही युरोपेली वस्तुमा आयात शुल्क बढाउने वा तिनको आयातमा प्रतिबन्ध लगाउने सम्भावना रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
रुसी विदेश मन्त्रालयको आर्थिक सहयोग विभागका निर्देशक दिमित्री बिरिचेभस्कीले समाचार संस्था स्पुतनिकसँग कुरा गर्दै पश्चिमी प्रतिबन्धको जवाफ दिन रुसले लामो समयदेखि अन्तरनिकाय संयन्त्र कायम राखेको बताउनुभयो । उक्त संयन्त्रले परिस्थितिअनुसार छिटो र उपयुक्त प्रतिकारात्मक उपाय अपनाउन सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
बिरिचेभस्कीका अनुसार सम्भावित उपायमा रुसका लागि प्रतिकूल मानिएका देशबाट आयात हुने निश्चित वस्तुमा शुल्क बढाउने, केही वर्गका सामानको आयात सीमित गर्ने तथा निर्यात र आयातमा कोटा लागू गर्ने व्यवस्था समावेश हुन सक्छन् । उहाँले आवश्यकताअनुसार अन्य उपायसमेत अपनाउन सकिने बताउनुभयो ।
रुसी विदेश मन्त्रालयको भनाइले इयुको प्रतिबन्धको जवाफमा रुसले व्यापारसम्बन्धी थप नियन्त्रणका उपाय अपनाउन सक्ने सङ्केत गरेको छ ।

