Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | रासस

काठमाडौँ, १६ कात्तिकः नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । 

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच आज चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।

    भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएकाले यो सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बिटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    अग्रवालले पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

    उहाँले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्नुभयो । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उहाँको भनाइ छ ।

    राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताउनुभयो । उहाँले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताउनुभयो ।

    भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो । भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan