रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन
मुस्ताङ, १६ कात्तिकः उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मराङमा रैथाने बाली परिकारसम्बन्धी एक हप्ते तालिम सञ्चालन गरिएको छ ।
लो—मराङ होमस्टे तथा पर्यटन व्यवसायीलाई लक्षित गरी एक्याप लोमान्थाङले उक्त तालिम आयोजना गरेको हो ।
सामुदायिक होमस्टे (घरवास) चलाएर बसेका घरधुरी तथा अन्य गाउँका स्थानीयलाई रैथाने खाद्य परिकारसम्बन्धी सीप तथा क्षमता विकासका लागि कुकिङ तालिम सञ्चालन गरिएको हो ।
भौगोलिक रुपले विकट गाउँ मराङमा लोघेकर दामोदरकुण्डका स्थानीयलाई पर्यटनसँग जोड्ने गरी कुकिङ तालिम दिन सुरु गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमान्थाङको प्राविधिक सहयोग तथा लो—मराङ सामुदायिक होमस्टेको समन्वयमा रैथाने उत्पादनका परिकार बनाउने सीप विकास तालिम आइतबारदेखि सुरु गरिएको हो ।
तालिमको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उद्घाटन गर्नुभयो । अध्यक्ष विष्टले स्थानीयको जीविकोपार्जन तथा आयआर्जनका लागि रैथाने खानाका परिकार बनाउने तालिम फलदायी हुने अपेक्षा गर्नुभयो ।
परम्परागत बालीको संरक्षण तथा प्रबद्र्धन गरी स्थानीय होमस्टे चलाएर बसेका तथा अन्य घरधुरीलाई यसप्रकारको तालिमले ठूलो ज्ञानसीप र क्षमता अभिवृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ ।
मराङ गाउँमा ४८ घरधुरी मध्ये १८ घरधुरीले होमस्टे (घरवास) सञ्चालन गरेका छन् । रैथाने खाद्यबालीका खानका परिकार बनाउने सीपमूलक तालिममा २८ घरधुरीको सहभागिता छ ।
तालिममा मराङ सामुदायिक होमस्टे घरधुरीसहित चराङ, घमी, यारा र घारा गाउँका पर्यटन व्यवसायी तथा स्थानीयको सहभागिता छ ।
होमस्टे प्रबद्र्धन, गुणस्तर वृद्धि तथा रैथानी बाली प्रबद्र्धन गर्दै स्थानीयको सीप तथा आयश्रोत वृद्धि गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ ।
तालिममा रैथानेबाली फापर, उवा, जौ, गहु, मकै, बोडी, सिमी लगायतका खाद्यबालीका परिकार बनाउन सिकाईने छ । यसैगरी च्याङ्ग्रा, याक, लोकल कुखुराको मासुजन्य परिकारहरु बनाउने तालिम पनि प्रदान गरिने भएको छ ।
विश्वकै पहिलो र पुरानो दावी गरिएको लोघेकर गुम्बा (घर गुम्बा) ऐतिहासिक गुम्बाको रुपमा परिचित छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङको मराङ गाउँ पयटनको प्रचूर सम्भावना रहेको छ । तर, त्यहाँको आवश्यक प्रचार÷प्रसार नहुँदा मुस्ताङको मराङ गाउँ ओझेलमा परेको छ ।
राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकमार्ग नजिकै रहेको मराङ गाउँ चराङदेखि ५ किमी पश्चिममा पर्छ ।
भिरालो सतहमा अवस्थित मराङ गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आत्मनिर्भर छन् ।
उनीहरुलाई पर्यटनसँग जोड्ने गरी एक्याप लोमान्थाङले होमस्टे सञ्चालनदेखि आवश्यक कार्यहरुमा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

