ब्याक्टेरियाले भाइरसकै हतियारबाट गर्छन् प्रतिरक्षा
ब्याक्टेरियाले आफूलाई सङ्क्रमण गर्ने भाइरसकै हतियारलाई सङ्केतका रूपमा प्रयोग गरी प्रतिरक्षा प्रणाली सक्रिय पार्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । भाइरसले उत्पादन गर्ने विशेष इन्जाइमले ब्याक्टेरियाको सेन्सर प्रोटिन काट्दा प्रतिरक्षा प्रतिक्रिया सुरु हुने र सङ्क्रमित ब्याक्टेरियाले आफैँलाई नष्ट गर्नेसम्मको अवस्था आउने अध्ययनले देखाएको छ ।
यो खोजले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण उपचार गर्न प्रभावकारी फेज थेरापी विकास गर्न सहयोग पु¥याउन सक्छ । साथै, ब्याक्टेरिया र मानिसमा पाइने प्रतिरक्षा प्रणालीको विकासक्रम बुझ्न पनि यसले नयाँ आधार प्रदान गरेको छ ।
ब्याक्टेरियाबाट हुने सङ्क्रमणको उपचारका नयाँ उपाय खोजिरहेका वैज्ञानिकहरूले पछिल्लो समय ब्याक्टेरियोफेज अर्थात् फेज नामक भाइरसको अध्ययनमा जोड दिएका छन् । यी भाइरसले विशेष रूपमा ब्याक्टेरियालाई मात्र लक्षित गर्ने भएकाले मानव कोषलाई हानि नगरी हानिकारक ब्याक्टेरिया नष्ट गर्न सक्छन् । एन्टिबायोटिक औषधिप्रति प्रतिरोधी बनेका ब्याक्टेरियालाई समेत यस्ता भाइरसले आक्रमण गर्न सक्छन् ।
यद्यपि, फेज थेरापीको प्रभावकारितामा ब्याक्टेरियाकै प्रतिरक्षा प्रणाली चुनौती बन्न सक्छ । ब्याक्टेरियाले भाइरसबाट बच्न आफ्नै प्रतिरक्षा संयन्त्र विकास गरेका हुन्छन् । ती संयन्त्रले कसरी काम गर्छन् भन्ने बुझ्न सके वैज्ञानिकहरूलाई ब्याक्टेरियाको प्रतिरक्षा छल्न सक्ने प्रभावकारी उपचार विकास गर्न सहज हुनेछ ।
साइन्सडेलीका अनुसार, नयाँ अध्ययनले ब्याक्टेरियाले भाइरसको आक्रमण पहिचान गर्ने एउटा महत्त्वपूर्ण संयन्त्र पत्ता लगाएको छ । भाइरसले उत्पादन गर्ने इन्जाइमले ब्याक्टेरियाको कोषभित्र रहेको विशेष सेन्सर प्रोटिनलाई काट्छ । यही परिवर्तनले सङ्केतको काम गर्दै ब्याक्टेरियाको प्रतिरक्षा प्रणाली सक्रिय बनाउँछ ।
अध्ययनका पहिलो लेखक तथा युनिभर्सिटी अफ उटाह हेल्थका जैवरसायनशास्त्रका सहायक प्राध्यापक डा. साम हब्सले यसलाई ब्याक्टेरियाको प्रतिरक्षा प्रणालीसम्बन्धी महत्त्वपूर्ण खोजका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले यो प्रतिरक्षा संयन्त्र सबैभन्दा सामान्यमध्ये एक भएकाले यसको कार्यविधि पत्ता लाग्दा आफूहरू निकै उत्साहित भएको बताउनुभयो ।
अध्ययनको नतिजा विज्ञानसम्बन्धी जर्नल ‘साइन्स’ मा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूले सीबीएएसएस नामक ब्याक्टेरियाको प्रतिरक्षा प्रणालीमा ध्यान केन्द्रित गरेका थिए । यो प्रणाली सक्रिय हुँदा ब्याक्टेरियाले अन्तिम उपायका रूपमा आफैँलाई नष्ट गर्न सक्छ । यसो गर्दा आक्रमणकारी भाइरसले अन्य नजिकका ब्याक्टेरियामा फैलिने अवसर पाउँदैन । त्यसैले यस्तो प्रतिरक्षा प्रणालीले वास्तविक भाइरल खतरालाई सही रूपमा पहिचान गर्न आवश्यक हुन्छ ।
डा. हब्स र उहाँका सहकर्मीहरूले ब्याक्टेरियाले भाइरसलाई कसरी चिन्छ भन्ने प्रक्रिया पत्ता लगाउने क्रममा केही फेजले प्रोटिएज नामक इन्जाइम उत्पादन गर्ने देखे । यो इन्जाइमले अन्य प्रोटिनलाई काट्न वा बिगार्न सक्छ । अनुसन्धानअनुसार, फेजबाट उत्पादित प्रोटिएजले ब्याक्टेरियाको आफ्नै प्रोटिनमा प्रत्यक्ष असर गर्छ । यही गतिविधिले प्रतिरक्षा प्रणाली सक्रिय पार्ने सङ्केत दिन्छ ।
डा. हब्सका अनुसार, प्रोटिएजले ब्याक्टेरियाको प्रोटिनमा प्रत्यक्ष प्रभाव पार्नु नै प्रतिरक्षा प्रतिक्रिया सुरु हुने आधार हो । यसले ब्याक्टेरियाले भाइरसको आक्रमण पत्ता लगाउने तरिकाबारे वैज्ञानिकहरूको पुरानो बुझाइलाई नयाँ दिशा दिएको छ ।
भाइरस पहिचान गर्ने यो प्रक्रिया अन्य केही प्रतिरक्षा संयन्त्रभन्दा फरक छ । त्यस्ता संयन्त्रले भाइरसको आनुवंशिक पदार्थलाई प्रत्यक्ष रूपमा पहिचान गर्छन् । तर सीबीएएसएस प्रणालीमा भाइरसको प्रोटिनले ब्याक्टेरियाको आफ्नै प्रोटिनमा पार्ने प्रभावबाट खतरा पहिचान हुन्छ ।
“ब्याक्टेरियाका यी प्रोटिन कसरी सक्रिय हुन्छन् भन्ने पूर्णतः नयाँ संयन्त्र हो । यसरी काम गर्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, डा. हब्सले भन्नुभयो ।
यस खोजले ब्याक्टेरियाले फेजबाट आफूलाई कसरी जोगाउँछन् भन्ने बुझ्न मात्र नभई मानिसको प्रतिरक्षा प्रणालीबारे अध्ययन गर्न पनि सहयोग पु¥याउन सक्छ । सीबीएएसएस मानिसमा पाइने प्रतिरक्षा मार्गसँग सम्बन्धित रहेकाले यी प्रणालीको केही आधारभूत पक्ष लामो विकासवादी इतिहासदेखि संरक्षित रहँदै आएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।
यस सम्बन्धले ब्याक्टेरिया र मानिसका साझा प्राचीन पूर्वजसम्म प्रतिरक्षा प्रणालीको विकासक्रम जोडिएको हुन सक्ने सङ्केत गर्छ । ब्याक्टेरियाको अध्ययनबाट प्राप्त ज्ञानलाई मानवसँग बढी समानता भएका जैविक नमुनामा परीक्षण गरेर प्रतिरक्षासम्बन्धी थप जानकारी हासिल गर्न सकिने अनुसन्धानकर्ताहरूको विश्वास छ ।
ब्याक्टेरियाको जीवनचक्र छोटो हुने भएकाले तिनमा प्रतिरक्षासम्बन्धी प्रक्रियाको अध्ययन छिटो गर्न सकिन्छ । त्यसबाट प्राप्त नतिजाले मानिसलगायत अन्य जीवमा प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भन्नेबारे आधारभूत प्रश्नको जवाफ खोज्न मद्दत गर्छ ।
डा. हब्सले ब्याक्टेरिया र मानिसमा समान प्रतिरक्षा प्रणाली पाइने तथ्यले विकासक्रमका विभिन्न चरणमा पनि यी संयन्त्र महत्त्वपूर्ण रहँदै आएको देखाउने बताउनुभयो । उहाँका अनुसार, कोषहरूले अरबौँ वर्षदेखि यस्ता प्रणाली कायम राख्नुले तिनको जैविक महत्त्व पुष्टि गर्छ । भाइरससँग लड्ने क्षमता कसरी विकसित भयो र किन लामो समयसम्म कायम रह्यो भन्ने बुझ्न पनि यो अध्ययन उपयोगी हुने उहाँको भनाइ छ ।
‘साइन्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानको शीर्षक ‘फेज प्रोटिएजले सीबीएएसएस एन्टिफेज प्रतिरक्षा सक्रिय गर्छ’ रहेको छ ।

